२०८२ फाल्गुन २६

चौतारा अस्पतालमा निःशुल्क हेमोडायलायसिस सेवा, मिर्गौला बिरामीलाई राहत

सिन्धुपाल्चोक ।  चौतारा अस्पतालमा मिर्गौलाका बिरामीका लागि हेमोडायलायसिस सेवा उपलब्ध भएपछि स्थानीयलाई ठूलो राहत पुगेको छ । विपन्न नागरिक उपचार कोषमार्फत यो सेवा निःशुल्क प्रदान भइरहेको छ ।

यसअघि डायलाइसिसका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेसँगै बिरामीले समय, खर्च र कठिनाइ कम भएको अनुभव गरेका छन् । चौतारा गैरिगाँउकी शर्मिला तामाङले एक वर्षदेखि निःशुल्क उपचार पाउँदै आएको अनुभव सुनाउँदै जिल्लामै सेवा उपलब्ध हुनु आफैंमा ठूलो सहजता भएको बताइन् ।

यस्तै, साँगाचोकका पुर्णबहादुर नेपालीले पनि चार महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् । उनले उपचार काठमाडौंमै सीमित हुँदा हुने आर्थिक बोझ अहिले कम भएको अनुभव व्यक्त गरे ।

चौतारा अस्पतालले बिरामीको आवश्यकतालाई ध्यानमा राख्दै थप दुई बेड क्षमता विस्तार गर्ने तयारी गरेको छ । मिर्गौला रोगलाई महंगो उपचार मानिने भएकाले जिल्लामै निःशुल्क सुविधा सुरु हुनु ग्रामीण बासिन्दाका लागि जीवनरक्षक अवसर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्