२०८२ भाद्र ११

चौतारा अस्पतालमा स्वास्थ्य सेवा विस्तार, स्थानीयलाई सहज विशेषज्ञ उपचार

सिन्धुपाल्चोक । पहिले सीमित सेवामात्र उपलब्ध गराउँदै आएको चौतारा अस्पताल अहिले सेवा विस्तारसहित सशक्त बन्दै गएको छ । सुविधा सम्पन्न भवन, पर्याप्त जनशक्ति र विशेषज्ञ उपचार सेवाका कारण अस्पतालप्रति जनताको विश्वास बढ्दो छ ।

हाल दैनिक सरदर २२० देखि २३० बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन् । असार महिनादेखि सुरु गरिएको हाडजोर्नी लगायतका विशेषज्ञ सेवासंगै छोटो अवधिमै १० वटा शल्यक्रिया सम्पन्न भइसकेका छन् । यसले जिल्लावासीलाई राजधानी धाउनुपर्ने बाध्यता कम गर्दै घर नजिकै उपचार पाउने वातावरण सिर्जना गरेको छ ।

अस्पतालमा हाल ४ जना विशेषज्ञसहित १६ जना चिकित्सक कार्यरत छन् । साथै दुई जना दन्त सर्जनसहितको दन्त उपचार सेवा पनि सुरु गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूद्र भण्डारीका अनुसार करिब २५ जना नर्ससहित जम्मा ११६ जना कर्मचारीले नियमित सेवा प्रवाह गर्दै आएका छन् । पहिले न्यून जनशक्तिका आधारमा काम गर्दै आएको अस्पताल अहिले पर्याप्त जनशक्ति लिएर सेवा प्रवाहमा थप प्रभावकारी बनेको छ ।

स्वास्थ्य सेवा विस्तारका क्रममा अस्पतालले महिनाको दुई दिन बाहिरबाट विभिन्न विभागका विशेषज्ञ चिकित्सक झिकाई उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यससँगै, आवश्यक आधुनिक उपकरण थप गर्ने तयारी पनि भइरहेको प्रशासनले जनाएको छ ।

 

डा. भण्डारीका अनुसार, चौतारा अस्पतालले बिस्तारै जिल्लावासीका लागि मात्र नभई जिल्ला वरपरका नागरिकलाई समेत केन्द्रियस्तरको सेवा दिने गरी कार्ययोजना अघि बढाएको छ । नियमित स्वास्थ्य सेवासँगै आकस्मिक र विशेष उपचारलाई प्रभावकारी बनाउन अस्पताल प्रशासनले प्राथमिकता दिइरहेको छ ।

स्थानीयवासीका अनुसार, विगतमा सामान्य उपचारका लागि समेत धुलिखेल वा काठमाडौं धाउनुपर्ने बाध्यता थियो । तर अहिले चौतारा अस्पतालमै विशेषज्ञ परामर्श, शल्यक्रिया र विशेष उपचार सुविधा उपलब्ध भएपछि समय, स्रोत र मेहनत तिनैको बचत भएको छ ।

अस्पताल प्रशासनले आगामी दिनमा थप विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण र आधुनिक सेवा विस्तार गरेर चौतारा अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्