२०८२ कार्तिक २

कोदारी राजमार्ग सञ्चालनमा इकु पहिरो बाधक, चार दिनदेखि अवरुद्ध छ सडक

सिन्धुपाल्चोक । गएको आइतबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारीस्थित इकु भीरमा फेरि पहिरो खस्यो अनि बाटो पूर्ण रुपमा अवरुद्ध भयो । ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।

चार दिन बित्यो इकु पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको । तर अझै पहिरो पन्छाउन सकिएको छैन । जसकारण यो सडक चार दिनदेखि बन्द छ ।
नेपालको उत्तरी सीमा तातोपानी नाकास्थित कोदारी लोकमार्ग अन्तर्गत इकु पहिरो दैनिक खस्ने व्रmममा रहेको छ । धेरैपटक यो भीरमा पहिरो खसेपनि सम्बन्धित निकायले दीर्घकालीन रुपमा पहिरोलाई पन्छाउन सकेका छैनन् ।

यो क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको तातोपानी नाकानजिक पर्छ । इकु पहिरो खसिरहने हुँदा तातोपानी नाकाबाट आएका मालवाहक कन्टेनर रोकिएका छन् । चीनसँगको व्यापारमा असर पुगिरहेको छ । नियमित सञ्चालनका लागि सडक विभाग निरन्तर लागिरहेको डिभिजन प्रमुख अमित श्रेष्ठले जानकारी दिए । उनले दिनरात सडक खुलाउने प्रयास भइरहेको सुनाए ।

इकु पहिरो पन्छाउन र भासिएको स्थान उठाउन नसक्दा चार दिन बित्दासमेत राजमार्ग नखुलेको हो । इकु पहिरो झरिरहने समस्यासँगै अर्कोतर्फ सोही पहिरोमुनि रहेको भोटेकोशी नदीको बहाबले सडकलाई तानिरहेको छ । नदीले तानेर भासिएको सडक उठाउन सडक डिभिजन कार्यालयले हैरानी बेहोरिरहेको छ । दिनहुँ खस्ने पहिरोले कन्टेनर मात्रै होइन, बिरामी बोक्ने एम्बुलेन्सलगायतका अत्यावश्यक सवारीसाधन पनि रोकिनु परेको छ ।
सडक अवरुद्ध हुँदा तातोपानी नाकाबाट भन्सार प्रक्रियाका लागि उताबाट छुटेका दर्जनौँ कन्टेनर खासा, लिपिङमा रोकिँदै आएका छन् ।

 

 

फरक पत्रिका

प्रतिक्रिया दिनुहोस्