सिन्धुपाल्चोक । मानव बेचबिखनको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का रेशमबहादुर खत्री पक्राउ परेका छन् । उनलाई पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १५ स्थित बसपार्कबाट पक्राउ गरिएको हो । उनीसहित सिन्धुलीको सुनकोशी गाउँपालिकाका राजकुमार अच्छामीसमेत पक्राउ परेका छन् ।
खत्रीको स्थायी घर चौतारा भएपनि उनी हाल पर्सा बस्दै आएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरीको समन्वयमा मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको हो । एउटै घटनामा संलग्न रहेका अच्छामीलाई काठमाडौंको बल्खुबाट पक्राउ गरिएको थियो । उनीहरु दुवै सोमबार पक्राउ परेका हुन् । उनीहरुविरुद्ध २६ बबरमहल (४१८)ले किटानी जाहेरी दिएका थिए । मानव तस्करी मुद्दामा जाहेरी परेकै दिन उनीहरुलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ ।
उनीहरुले पीडितलाई भारतमा चचलकको काममा लगाइदिन्छु भनेर प्रलोभन देखाई लगेका थिए । त्यहाँ भारतीय रुपैयाँ पैतीस हजार तलब र थप ओभरटाइम कमाइ हुने उनीहरुले आश्वासन दिएको मानब बेचबिखन अनुसन्धान व्यूरोका एसपी सूचना अधिकारी रुगमबहादुर कवँरले फरकपत्रिकालाई जानकारी दिए ।
पीडितलाई २०८२ वैशाख १९ गते वीरगञ्ज लगेर खत्रीले रिसिभ गरेका थिए । रेशमले अटो रिक्सा चढाईभारतको रक्सौल हुँदै पटना लगी पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार कम्पनी पुर्याएको प्रहरीले जनाएको छ । त्यहाँ लगेर भारु दश हजार रुपैयाँ तिर्न लगाई सात दिनसम्म तालिमको नाममा बन्धक बनाएको पीडितको भनाई उदृत गर्दै कुवँरले जानकारी दिए ।
तालिमको नाममा बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिएको प्रहरीले जनाएको छ । फेसबुकमा इन्भाइट गर्न लगाई पीडितसहित अन्य नेपाली नेपालीलाई घरm परिवारसँग सम्पर्क गर्न नदिएको, खान बस्न नदिई डर त्रास र धम्की दिएको र मेसेन्जरमा अन्यलाई पै्रलोभनमा पार्न लगाएको पीडितको दाबी छ ।
पीडितका अनुसार अन्य व्यक्तिलाई प्रलोभनमा पारेर भारत बोलाई मोबाइलबाट अन्लाइन स्क्यामिडको काम गर्न बाध्य बनाएका थिए । सो काम गर्न लगाएर दुई लाख रुपैयाँ लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती पीडितसँग कागज गरी दुई महिना बन्धक राखेको पीडितको जाहेरीमा उल्लेख छ ।
पीडितलाई मानसिक तथा शारीरिक यातना दिइरहँदा साउन १ गते नेपाल फर्कन सकेका थिए । नेपाल फिरेलगत्तै साउन ५ गते मानब बेचबिखन व्यूरोमा उजुरी गरेपछि अभियुक्त दुबै जना पक्राउ परेका हुन् ।
उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्