सिन्धुपाल्चोक | चौतारा साँगाचोकगढी नगरपालिका–११ ले सार्वजनिक जग्गाको उपयोग गरी दीर्घकालीन सोचसहित बहुआयामिक विकासको अभियान सुरु गरेको छ। सल्लाको बन्जर जमिनमा हरियाली थप्दै सार्वजनिक स्थलहरूमा फलफूलका विरुवा रोप्ने कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ।
वडा अध्यक्ष रोशन राज गिरीका अनुसार सामुदायिक वन, चौर, सरकारी कार्यालय परिसर लगायतका सार्वजनिक स्थानहरूमा आँप, लिची, अम्बा, कागती, सुन्तला, नास्पाती, अन्जिर, जामुन, गुलाब जामुन, एभोकाडोजस्ता १२ प्रजातिका ४ हजार ५ सयभन्दा बढी फलफूलका विरुवा रोपिने लक्ष्य लिइएको छ। शान्ति सेवा गृहको समन्वयमा उन्नत ग्राफ्टिङ प्रविधिबाट उत्पादन गरिएका विरुवा वितरण गरिएको हो, जसको मूल्य प्रतिविरुवा ५ सय रुपैयाँसम्म पर्छ।
सार्वजनिक स्थलगतरूपमा मात्रै होइन, निजी जग्गामा विरुवा लैजान चाहने कृषकलाई पनि सार्वजनिक स्थलमा कम्तीमा एक विरुवा रोप्नुपर्ने सर्तसहित यो अभियान अघि बढाइएको छ। स्थानीय युवा अपि गिरीका अनुसार सल्लाजस्ता वनस्पतीले जमिन बाझो बनाएकाले फलफूल रोपणले जमीन उत्पादनशील बनाउने मात्र होइन, वन्यजन्तु नियन्त्रणमा समेत मद्दत पुग्नेछ।
कार्यक्रममा नगरप्रमुख कृष्ण प्रसाद सापकोटासमेत स्वयं सहभागी भएका थिए। वडा अध्यक्ष गिरीका अनुसार यो अभियान केवल वृक्षरोपणमा सीमित नरही वातावरणीय सन्तुलन, आर्थिक सशक्तीकरण, सामाजिक सहभागिता र समृद्धिको बहुआयामिक प्रयास हो।
वडाले कृषिमा समेत ध्यान केन्द्रित गर्दै १५ जना बंगुर पालक किसानलाई जनही १५ हजार रुपैयाँका दरले अनुदान प्रदान गरेको छ। उन्नत धान बीउ खरिद गरेका १ सय ५० परिवार र मकै बीउ खरिद गरेका २ सय ५६ परिवारलाई पनि अनुदान उपलब्ध गराइएको छ।
त्यस्तै, माझी समुदायका आर्थिक रूपमा पछाडि पारिएका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १ सय जनालाई गलैंचा बुन्ने तान वितरण गरिएको छ। यो कार्यक्रम नगरपालिका उद्यम शाखा र वडा नं. ११ को सहकार्यमा सञ्चालन गरिएको हो। कार्यपालिका सदस्य सिता पौडेलका अनुसार, यो कार्यक्रम महिलाको आर्थिक सशक्तीकरणतर्फको ठोस पाइला बनेको छ।
वडाले ३ सय घरधुरी लाभान्वित हुने खानेपानी ट्याङ्कीका लागि आवश्यक जमिन समेत खरिद गरेर भिमटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुशिल माझीलाई पुर्जा हस्तान्तरण गरेको छ।
नगर प्रमुख सापकोटाले चौतारा साँगाचोकगढी–११ ले अघि सारेको यो अभियान अन्य वडाहरूका लागि पनि प्रेरणादायी मोडेल बन्ने विश्वास समेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्