चौतारा, सिन्धुपाल्चोक —सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित जुगल बोर्डिङ हाइस्कुलले शिक्षण–सिकाइ पद्धतिमा गुणात्मक सुधार ल्याउने उद्देश्यले विशेष शिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। दुई दिनसम्म सञ्चालन हुने यो तालिमको पहिलो दिन आज सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन सत्रमा शिक्षाविद्, लेखक तथा सामाजिक अभियन्ता प्रोफेसर रमेश प्रसाद भट्टराईले शिक्षण सत्र सञ्चालन गर्दै शिक्षकहरूलाई विद्यार्थी–केन्द्रित सिकाइ विधि अपनाउन प्रेरित गर्नुभयो। उहाँले भन्नुभयो, “व्याख्यानमूलक शिक्षणले मात्र पर्याप्त हुँदैन, विद्यार्थीलाई सक्रिय सिकाइको अवसर दिनुपर्छ।”
उहाँले श्रव्यदृश्य सामग्री, समूह छलफल र प्रस्तुतीकरण जस्ता आधुनिक विधिहरू प्रयोगमा ल्याएर शिक्षणलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा पूर्व–प्राथमिक, प्राथमिक र माध्यमिक तहमा कार्यरत २६ जना शिक्षकहरूको सक्रिय सहभागिता थियो। उनीहरूले आ–आफ्नो तहअनुसार प्रभावकारी शिक्षण प्रविधिहरूबारे प्रस्तुति दिए।
सत्रको सह–सञ्चालन चर्चित हास्यव्यङ्ग्य कलाकार तथा सिस्नुपानी नेपालका संस्थापक सदस्य देवीप्रसाद घिमिरेले गर्नुभयो। उहाँले प्रशिक्षण अवधिभर शिक्षकहरूलाई शिक्षणसँग सम्बन्धित प्रेरणादायी एवं जानकारीमूलक सामग्री प्रस्तुत गर्नुभयो।
यसैबीच, विद्यालयले विद्यार्थीहरूका लागि छुट्टै प्रशिक्षण सत्रको समेत आयोजना गरेको थियो। प्रशिक्षक रविन कटवालले विद्यार्थीहरूलाई अनुशासन, आत्मविकास, लक्ष्य निर्धारण र जीवनमा शिक्षाको भूमिकाबारे प्रेरक प्रशिक्षण दिनुभयो।
कार्यक्रमको समापन सत्रमा विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपहरू कक्षा कोठामा व्यवहारमा उतार्न शिक्षकहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “पढाइमा वास्तविक परिवर्तन ल्याउन तालिममा सिकिएका विधिहरू व्यवहारमा लागू गर्नु अत्यावश्यक छ।”
विद्यालयले जानकारी दिएको अनुसार तालिमको दोस्रो दिन “अभिभावक शिक्षा कार्यक्रम” सञ्चालन गरिनेछ, जुन सहिद स्मृति भवन, गैरीगाउँमा हुनेछ। सो कार्यक्रममा पनि प्रशिक्षक रविन कटवालले प्रशिक्षण दिने तय भएको छ।
प्रतिक्रिया दिनुहोस्