२०८२ असार ३
                           

कुनेगाँउ पहिरो : मृतकका परिवार र विस्थापितलाई राहत प्रदान

शनिबार पहिरोले घर पुर्दा ज्यान गुमाएका जुगल गाउँपालिका-१ कुनेगाउँको मृतकका परिवारलाई क्षतिपूर्ति तीन लाख दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाकाअनुसार बिहीबार मृतक जुगल-१ का चित्रबहादुर मिजारको परिवारलाई घरमै पुगेर संघीय र प्रदेश सरकारको प्रावधानअनुरुप तीन लाख रुपैयाँ दिइएको हो ।

आफ्नो नेतृत्वमा जुगल गापा अध्यक्ष रेशम स्याङ्बो, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख, वडाध्यक्षको उपस्थितिमा सहयोग दिइएको उनले बताए ।

‘जुगल-१ बाट राहत र क्षतिपूर्ति दिन सुरु गरेका छौं, यसअघि जुगलको तेगामा हेलिकप्टर लिएर सहयोग र उद्वारमा पुगेका थियौं,’ प्रजिअ थापाले भने ।
जुगल-१ कुनेगाँउकै पहिरोको कारणले विस्थापित भएका अन्य ३ घरपरिवारलाई ब्ल्याङ्केट, डस्ना र भाँडाकुँडा सेट दिइएको छ । केही दिनअघि पहिरोले क्षतिग्रस्त घरबाट जुगल-१ कुनेगाँउवासी ४५ वर्षका चित्रबहादुर मिजार र एक पहिचान नखुलेका ५ वर्षे बालकको शव भेटिएको थियो ।

मृतक मिजारकी श्रीमती ४५ वर्षीया ठूलोकान्छी र जुगल-४ का २४ वर्षीय अविनाश नेपालीको अझै अवस्था अज्ञात छ । ‘बेपत्ता अविनाश ठूलीकान्छीको बहिनीको छोरा भएको खुलेको छ, मृतक बालक अविनाशकै छोरा हुन्, बेपत्ता दुवैको खोजी भइरहेको छ,’ प्रहरी उपरीक्षक सन्तोष खड्काले भने ।

 

प्रतिक्रिया दिनुहोस्