२०८३ असार ५

यस वर्षको प्रि-मनसुनमा ४५ वर्ष यताकै धेरै वर्षा, तोडियो १९९० को रेकर्ड

४ असार, काठमाडौं । नेपालमा यस वर्षको प्रि-मनसुन (मार्च-मे) सिजनमा विगत ४५ वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षाले विगतका सबै कीर्तिमानहरूलाई भंग गरेको हो ।

नेपालमा प्रि-मनसुन सिजनमा औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्दछ । तर, यस वर्ष (सन् २०२६) औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७७ मिलिमिटर वर्षा भएको छ । यो औसत भन्दा झण्डै डेढ गुणा बढी हो ।

सन् १९९० को रेकर्ड भंग

जल तथा मौसम विज्ञान विभागले सन् १९८१ देखि देशका १२६ वटा वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि-मनसुनको विश्लेषण गर्दै आएको छ ।

विभागको तथ्याङ्क अनुसार यसअघि सन् १९९० मा सबैभन्दा धेरै ३३१.४० मिलिमिटर पानी परेको रेकर्ड थियो । यस वर्षको वर्षाले उक्त ३६ वर्ष पुरानो रेकर्डलाई समेत पछि पार्दै नयाँ इतिहास कायम गरेको छ ।

प्रि-मनसुन भन्नाले मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् मार्च, अप्रिल र मे महिनाको अवधिलाई बुझिन्छ । यो अवधिमा प्राय सुक्खा हुन्छ । तर यस वर्ष वैशाखसम्मै पटक-पटक पानी, असिना, हिउँ परेको छ । सक्रिय पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले यस वर्ष धेरै पानी परेको मौसमविदहरु बताउँछन् ।

जलवायु परिवर्तनको असर र वायुमण्डलीय प्रभावका कारण यस वर्ष प्रि-मनसुन समयमै सक्रिय भई औसतभन्दा बढी वर्षा भएको मौसमविद्हरूको भनाइ छ । प्रि-मनसुनमै यति धेरै वर्षा भएपछि यसले आगामी मुख्य मनसुनको समयमा पर्न सक्ने असरबारे सजग रहनुपर्ने संकेत समेत गरेको छ ।

यस वर्षको मनसुनमा देशभर सरदर भन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान छ । यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम भने कम नहुने विज्ञहरुले बताएका छन् । उनीहरूका अनुसार छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र पानीको अभावले यो वर्षको मनसुन अझ खतरनाक बन्न सक्ने आशंका छ ।

नेपालमा सामान्यतया मनसुन आगमन हुने मिति जुन १३ भन्दा ५ दिन ढिला अर्थात् आज जुन १८ भइसक्दा पनि मनसुन भित्रिएको छैन ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्