२०८३ आश्विन २९

मनसुन निष्क्रिय भएसँगै मेलम्चीको पानी पुनः काठमाडौं पठाउन सुरु

सिन्धुपाल्चोक । मनसुन निष्क्रिय भएसँगै मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंमा पानी पठाउन पुनः सुरु गरिएको छ ।
मेलम्ची खानेपानी विकास समिति, पानीपोखरीका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१, अम्बाथानस्थित आयोजनाको हेडबक्समा पानी धमिलो भएपछि गत असार १९ गतेदेखि मनसुन अवधिभर काठमाडौंमा पानी पठाउने कार्य बन्द गरिएको थियो ।
मनसुन निष्क्रिय भएसँगै बुधबार (असोज २८ गते) दिउँसो १ बजेदेखि आयोजनाको सुरुङमार्गस्थित हेडबक्सबाट काठमाडौंमा पानी पठाउन थालिएको समितिले जनाएको छ।
मनसुनका कारण खोलामा पानीको बहाव बढ्ने र धमिलो पानीका कारण आयोजनाको सञ्चालनमा समस्या आउन सक्ने भएकाले वर्षायाममा पानी पठाउने कार्य बन्द गरिएको थियो । मौसम अनुकूल भएसँगै पुनः पानी पठाउन सुरु गरिएपछि काठमाडौंवासीलाई खानेपानी आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्