सिन्धुपाल्चोक। नेपालीहरूको महान् चाड विजया दशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरीले जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने, सवारीसाधनको आवागमनमा वृद्धि हुने तथा यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चौतारा, मेलम्ची, बाह्रबिसे, अधेरीलगायत जिल्लाका पाँच स्थानमा स्थापना गरिएका सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सहयोग, सूचना तथा सहजीकरण उपलब्ध गराइनेछ ।
चाडपर्वको समयमा यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउनुका साथै यात्रु ठगिने, बढी भाडा असुलिने तथा सवारीसाधनमा हुन सक्ने अन्य समस्यालाई न्यूनीकरण गर्न सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियमको पालना गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएको भाडादरभन्दा बढी रकम नतिर्न तथा कुनै समस्या परेमा नजिकैको यात्रु सहायता कक्ष वा ट्राफिक प्रहरीसँग सम्पर्क गर्न यात्रुहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्