काठमाडौं/ गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको भीषण बाढीले करिब ३५ घर बगाएको छ। आइतबार बिहान आएको बाढीले पैयू र बगरगाउँका घर बगाउनुका साथै दोभान, घट्टेखोला, जगत र सल्लेरीलगायतका बस्तीमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ।
बाढीबाट हालसम्म मानवीय क्षति भए नभएको विवरण प्राप्त भएको छैन। तर, नदी तटीय क्षेत्रका बजार तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाइएको छ।
बूढीगण्डकी नदीमा बहाव बढ्दै गएपछि आरुघाट क्षेत्रमा जलसतहले खतराको तह पार गरेको छ। जोखिमलाई ध्यानमा राख्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान विशेष सूचना जारी गरी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बाढीको मुख्य बहाव नघटेसम्म आरुघाटदेखि त्रिशूली दोभानसम्म नदी किनार तथा तटीय क्षेत्रमा नजान र सुरक्षित तथा अग्लो स्थानमा बस्न आग्रह गरिएको छ।
स्थानीय प्रशासन, प्रहरी र उद्धार टोली जोखिमयुक्त क्षेत्रको अवस्था अनुगमन गर्न तथा बासिन्दालाई सुरक्षित स्थानमा सार्न खटिएको जनाइएको छ। बाढीको जोखिम कायम रहेकाले नदी आसपासका बासिन्दालाई आधिकारिक निकायबाट जारी सूचनाको पालना गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्