सामुदायिक वन व्यवस्थापनलाई बदलिँदो समय, स्थानीय आवश्यकता तथा वातावरणीय चुनौतीअनुकूल बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान तथा प्राकृतिक स्रोत व्यवस्थापन अध्ययन संस्थानको आयोजनामा सामुदायिक वनसम्बन्धी विषयमा आयोजित छलफलमा सहभागीहरूले सामुदायिक वनको आगामी दिशा, स्थानीय समुदायको भूमिका तथा वन व्यवस्थापनमा देखिएका चुनौतीबारे सुझाव दिएका हुन्।
छलफलमा वन विज्ञान तथा प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रका पूर्वडिन प्राध्यापक कृष्ण तिवारी र प्राध्यापक सोनी बरालले विषयगत प्रस्तुति दिनुभएको थियो। उहाँहरूले नेपालमा सामुदायिक वनको विगतको अभ्यास, वर्तमान अवस्था तथा आगामी दशकमा सामुदायिक वनलाई अझ प्रभावकारी, दिगो र समुदायमैत्री बनाउने विषयमा प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले स्थानीय समुदायको सहभागिताबिना वन संरक्षण तथा व्यवस्थापन प्रभावकारी हुन नसक्ने बताउनुभयो। स्थानीय तह, समुदाय र वनसम्बन्धी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्थानीय आवश्यकता र अवस्थालाई प्राथमिकतामा राखेर वन व्यवस्थापनका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सीता थापा, वडा अध्यक्षहरू रामप्रसाद गौतम र शिव श्रेष्ठ, डिभिजन वन कार्यालयका प्रमुख ओम सागर भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष जनकराज गिरी, कार्यक्रम संयोजक यज्ञ दंगाल, पत्रकार ज्ञानेन्द्र तिमिल्सिना तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं पदाधिकारीहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले सामुदायिक वन संरक्षण, उपयोग, वातावरणीय सन्तुलन, स्थानीय समुदायको सहभागिता तथा वनबाट प्राप्त लाभलाई स्थानीयस्तरमै प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए।
उनीहरूले सामुदायिक वनको योगदानलाई वन संरक्षणमा मात्र सीमित नराखी स्थानीय रोजगारी, आयआर्जन, जैविक विविधता संरक्षण तथा वातावरणीय दिगोपनासँग जोडेर अघि बढाउनुपर्ने बताएका थिए।
बदलिँदो सामाजिक तथा आर्थिक परिवेशअनुसार सामुदायिक वनसम्बन्धी नीति, अभ्यास तथा कार्यक्रमलाई समेत समयानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्