देवराज सुवेदी | चौतारा साँगाचोकगढी नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्यकर्मीहरूलाई कार्यसम्पादनको गति बढाउन आग्रह गरे ।
आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न कार्यहरूको समीक्षा तथा आगामी योजना तर्जुमाका लागि आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख सापकोटाले नगरपालिकाले ल्याएका नीति, योजना र कार्यक्रमहरू सफल पार्न कर्मचारीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले सेवाग्राहीको सन्तुष्टि र सुलभ स्वास्थ्य सेवा नै नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कार्यसम्पादनमा थप सक्रियता देखाउन आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख सीता थापाले यस्तो समीक्षा कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्यकर्मीहरूले कार्यसम्पादनसँगै सोको अभिलेखीकरण (डकुमेन्टेसन) र प्रक्रियामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । साथै, आर्थिक वर्षको सुरुवातैदेखि कार्यक्रम सञ्चालन नगरिएमा त्यसको प्रभावकारिता कमजोर हुने भन्दै समयमै कार्य सम्पन्न गर्न जोड दिए ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बज्राचार्यले नगरपालिका र जनस्वास्थ्य कार्यालयबीचको समन्वय सहज रहेको बताउँदै स्थानीय तहले जिल्ला, प्रदेश र संघीय सरकारसँग समन्वय गरी काम गर्न सकेमा थप सहज हुने धारणा राखे । उनले नगरपालिकाको स्वास्थ्य क्षेत्रको कार्य क्रमशः सुधार हुँदै गएको बताउँदै प्राविधिक लगायतका सहयोग गर्न सधैं तत्पर रहेको प्रतिबद्धता जनाए ।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा नगरपालिका तथा यस अन्तर्गत रहेका स्वास्थ्य संस्था र अन्य सरोकारवाला निकायहरूले गरेका असल अभ्यास, सामना गरेका चुनौती, समस्या र सुधार गर्नुपर्ने विषयमा छलफल हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्