२०८३ भाद्र १९

बाढी प्रभावितका लागि कृष्ण रत्न गंगा माविका विद्यार्थीको १८ हजार सहयोग

सिन्धुपाल्चोक । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कृष्ण रत्न गंगा माध्यमिक विद्यालयका विद्यार्थीले आर्थिक सहयोग गरेका छन्। विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो तर्फबाट रकम संकलन गरी १८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विद्यार्थीहरूले जम्मा गरेको रकमको भौचर विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन् । सानै उमेरदेखि सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो क्षमता अनुसार सहयोग गरेको विद्यालयले जनाएको छ ।
यसैबीच, कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले पनि बाढी प्रभावितका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। केन्द्रले विपद्का कारण समस्यामा परेका नागरिकको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो ।

त्यस्तै, जुगल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३७ लाख ९९ हजार ८ सय ८९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बाढीपहिरोका कारण मृत्यु भएका तथा सम्पर्कविहीन रहेका गाउँपालिकाभित्रका १५ जना नागरिकका परिवारलाई समेत प्रति परिवार १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्ने जनाएको छ।
विपद्का बेला स्थानीय तह, संघसंस्था, कर्मचारी तथा विद्यार्थीबाट गरिएको सहयोगले प्रभावित परिवारलाई राहत र पुनःस्थापनामा केही सहजता पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्