सिन्धुपाल्चोक । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन चौतारा साँगाचोकगढी नगरपालिकाले ३५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाले आफ्ना जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीको पारिश्रमिकबाट रकम कट्टा गरी उक्त सहयोग जुटाएको हो । नगरपालिकाका अनुसार २०८३ भदौ महिनाको पारिश्रमिकबाट तह तथा श्रेणीअनुसार ३ देखि १० दिनसम्मको तलब-भत्ता कट्टा गरी ३५ लाख रुपैयाँ संकलन गरिएको हो ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय नगरपालिकाले गरेको छ । रसुवाको भोटेकोशी नदी आसपास तथा तटीय क्षेत्रमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि नगरपालिकाले राहत प्रयासमा आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
यसैबीच, चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका १२ जना नागरिक कामको सिलसिलामा बाढी प्रभावित रसुवा क्षेत्रमा पुगेका बेला सम्पर्कविहीन बनेका छन् । उनीहरूको अवस्था हालसम्म यकिन हुन नसकेको भन्दै नगरपालिकाले खोज तथा उद्धारका लागि केन्द्रीय कमान्ड पोस्टसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।
विपद्का क्रममा नगरपालिकाका नागरिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । नगरपालिकाले आफ्नो विपद् कोषबाट मृतकका परिवारलाई प्रतिपरिवार १ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने जनाएको छ ।
नगरपालिकाले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन परिस्थितिमा उद्धार, राहत र सुरक्षित पुनःस्थापनाका लागि सबै पक्षसँग सहकार्य र सहयोगको अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्