चौतारा । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सिन्धुपाल्चोकको चौतारा टुँडिखेल फाल्चामा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा ११ जना महिला र २७ जना पुरुष सहभागी भएका थिए । लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटीको आयोजना तथा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोकको सहकार्यमा भदौ १५ गते कार्यक्रम आयोजना गरिएको हो । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा विभिन्न उमेर समूहका रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए ।

कार्यक्रममा नियमित रक्तदाता कमल चरण कक्षपतीलाई ३७ पटक नातिबाबु धिताललाई ३९ पटक सुरेश कसजू लाई ३८ पटक र कमल श्रेष्ठलाई ओ नेगेटिभ रगत १७ पटक रक्तदान गरेको योगदानको कदर गर्दै ब्लोदानको सिल्भर पिनबाट सम्मान गरिएको थियो । रक्तदानलाई निरन्तरता दिँदै आएका उनीहरूको योगदानले अन्यलाई समेत रक्तदानका लागि प्रेरित गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र तथा मायाको चिनो हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले रक्तदानलाई सामाजिक सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताए । उनले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न सहयोग पुग्ने भन्दै रक्तदानसम्बन्धी जनचेतना अझ व्यापक बनाउनुपर्ने धारणा राखे ।
लायन्स क्लब अफ काठमाडौँ सिन्धु चौतारा सिटीका अध्यक्ष राकेश रानाले राष्ट्रिय पुस्तकालय दिवसलाई केवल पुस्तक र पठन संस्कृतिसँग मात्र सीमित नराखी समाजका लागि उपयोगी र मानवीय गतिविधिसँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई क्लबले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, ब्लोदान सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजुले रक्तदान जीवन बचाउने मानवीय कार्य भएकाले नियमित रक्तदाताको संख्या बढाउन सबै क्षेत्रबाट पहल आवश्यक रहेको बताए । उनले रक्तदानसम्बन्धी भ्रम हटाउँदै स्वस्थ व्यक्तिलाई नियमित रक्तदानका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
रक्तदान कार्यक्रममा सहभागीहरूले पनि आफ्नो सानो प्रयासले कसैको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई सामाजिक दायित्वका रूपमा लिनुपर्ने बताएका थिए । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमले पठन संस्कृतिसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देशसमेत प्रवाह गरेको आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्