सिन्धुपाल्चोक, कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेसनल हेल्पिङ फाउन्डेसन नेपालसँगको सहकार्यमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११, पौवाथोकमा स्वास्थ्य सचेतना तथा सरसफाइ सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कृषि विकास बैंक लिमिटेड चौतारा शाखाका शाखा प्रबन्धक दीपक खतिवडा, अपरेसन इन्चार्ज कमल सापकोटा, वडा नं. ११ का वडा अध्यक्ष रोशन गिरि, वडा सदस्यहरू रीना गिरि र ईश्वरी गिरि तथा नेसनल हेल्पिङ फाउन्डेसन नेपालकी अध्यक्ष सकुन्तला श्रेष्ठ खत्रीलगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत २५ विपन्न परिवारलाई सरसफाइ सामग्री वितरण गर्नुका साथै स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतनामूलक जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रोशन गिरिले वडामा फलफूल बगैंचा विस्तार, सिँचाइ पोखरी निर्माण तथा बाँदर नियन्त्रणका लागि विद्युतीय तारबार जस्ता कृषि प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले कृषि विकास बैंकले ग्रामीण समुदायसँग लामो समयदेखि सहकार्य गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न समुदायका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै बैंक तथा कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने नेसनल हेल्पिङ फाउन्डेसन नेपालप्रति धन्यवाद व्यक्त गरे ।
त्यसैगरी, कृषि विकास बैंक लिमिटेड चौतारा शाखाका शाखा प्रबन्धक दीपक खतिवडाले बैंकले नियमित बैंकिङ सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न वर्गको उत्थान, वित्तीय पहुँच विस्तार, वित्तीय साक्षरता अभिवृद्धि तथा सामाजिक विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले स्थानीय बासिन्दालाई बैंकमा खाता खोल्न, नियमित बचत गर्ने बानीको विकास गर्न, वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन तथा कृषि कर्जालगायत बैंकका सेवा उपयोग गरी ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन आग्रह गरे । साथै, कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी जानकारीसमेत प्रदान गरिएको थियो ।
कृषि विकास बैंक लिमिटेडले हाल देशभर करिब ३०० शाखामार्फत आधुनिक बैंकिङ सेवा विस्तार गर्दै कृषि क्षेत्रको विकास र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नेसनल हेल्पिङ फाउन्डेसन नेपालले कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो संस्थामार्फत ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना अभिवृद्धि तथा विपन्न परिवारलाई सहयोग उपलब्ध गराएकोमा बैंकप्रति आभार समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्