२०८३ असार २१

कृषि विकास बैंकद्वारा शीतला देवी माविका २२५ विद्यार्थीलाई स्वीटर वितरण

मेलम्ची । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१०, शिखरपुरस्थित श्री शीतला देवी माध्यमिक विद्यालयका २२५ जना विद्यार्थीलाई जाडोका लागि स्वीटर वितरण गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरिएको हो । उक्त विद्यालयमा मुख्य रूपमा दलित, जनजाति, गरिब तथा सीमान्तकृत समुदायका बालबालिका अध्ययनरत छन् । आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको पठनपाठनमा सहजता पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिका-१० का वडा अध्यक्ष अमृत खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै अध्यक्ष खनालले मेलम्ची नगरपालिका कृषि उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै कृषि विकास बैंकसँगको सहकार्यले स्थानीय कृषक र नगरपालिकाको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले राजधानीका लागि हरियो तरकारी आपूर्ति गर्ने प्रमुख क्षेत्रका रूपमा मेलम्ची परिचित रहेको उल्लेख गर्दै कृषकलाई बैंकिङ सेवा र कृषि क्षेत्रमा थप सहजीकरण गर्न बैंकसँग आग्रह गरे ।


कृषि विकास बैंक मेलम्ची शाखाका प्रबन्धक प्रज्वल भट्टराईले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । यस्ता सामाजिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गर्दै उनले विद्यालयसँग दीर्घकालीन सहकार्य गरी विद्यार्थीको क्षमता विकासका क्षेत्रमा समेत काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडा अध्यक्ष खनालले विद्यार्थीको आवश्यकता र उत्साहलाई मध्यनजर गर्दै बैंकले सहयोगका लागि उपयुक्त विद्यालय छनोट गरेको बताए । उनले सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै सहयोग उपलब्ध गराएकोमा बैंकप्रति आभार व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर चापागाईंले विद्यालयको शैक्षिक विकासका लागि विभिन्न निकायसँग सहकार्य गर्दै स्रोत व्यवस्थापन भइरहेको जानकारी दिए । उनले कृषि विकास बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित बनाउने विश्वास व्यक्त गर्दै बैंकप्रति धन्यवाद ज्ञापन गर ।

प्रतिक्रिया दिनुहोस्