चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित नगर कप २०८३ अन्तर वडा रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नगरभित्रका सबै १४ वडाको सहभागिता रहेको प्रतियोगितामा वडा नं. १ स्याउलेले उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताको फाइनल खेलमा वडा नं. १ स्याउले र वडा नं. ९ बीच प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलको पहिलो हाफमै गरेको एक गोल नै निर्णायक बन्दै स्याउलेले वडा नं. ९ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो भने पराजित वडा नं. ९ उपविजेतामा सीमित हुन पुग्यो ।

समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार, शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता वडा नं. १ ले नगद रु. ५० हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता वडा नं. ९ ले नगद रु. ३० हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरेको थियो ।

समापन समारोहका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नगर खेलकुद विकास समितिले सञ्चालन गरेको प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र विकासमा टेवा पुर्याएको उल्लेख गरे । उनले नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष रमेश श्रेष्ठले प्रतियोगिताको मुख्य उद्देश्य नगरभित्र रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गर्नु तथा नयाँ पुस्ताका फुटबल खेलाडी उत्पादनका लागि वातावरण सिर्जना गर्नु रहेको बताए । उनले आगामी वर्षहरूमा पनि प्रतियोगिता निरन्तर सञ्चालन गरिने जानकारी दिँदै रनिङ ट्रफी लगातार तीन पटक जित्ने वडाले उक्त ट्रफी स्थायी रूपमा आफ्नो बनाउन पाउने व्यवस्था गरिएको बताए ।

प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास, नयाँ प्रतिभाको पहिचान तथा वडा-वडाबीच आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धात्मक भावनाको अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएको छ । प्रतियोगितामा सहभागी खेलाडीहरूले समेत यस्ता प्रतियोगिताले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलमार्फत नयाँ अनुभव र आत्मविश्वास हासिल गर्न मद्दत पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्