चोैतारा । चौतारा स्पोर्टिङ क्लबको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित चौथो अन्तर-माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नगरभित्र रहेका २४ माध्यमिक विद्यालयमध्ये १६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा जनविकास माध्यमिक विद्यालय विजेता बन्दै चौथो सी.एस.सी. रनिङ कपको उपाधि जित्न सफल भएको हो ।
प्रतियोगिताको फाइनल खेलमा जनविकास माध्यमिक विद्यालय र सिद्धिकमला देवी माध्यमिक विद्यालयबीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै जनविकास माध्यमिक विद्यालयले जित आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाएको थियो भने सिद्धिकमला देवी माध्यमिक विद्यालय उपविजेतामा सीमित बन्यो ।

समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार, प्रमाणपत्र, पदक तथा शिल्ड प्रदान गरिएको थियो । विजेता जनविकास माध्यमिक विद्यालयले नगद रु. ३० हजारसहित शिल्ड, प्रमाणपत्र र पदक प्राप्त गरेको थियो भने उपविजेता सिद्धिकमला देवी माध्यमिक विद्यालयले नगद रु. २० हजारसहित प्रमाणपत्र र पदक प्राप्त गरेको थियो । साथै सेमिफाइनलसम्मको यात्रा तय गरेका इर्खु माध्यमिक विद्यालय र कृष्ण रत्नगंगा माध्यमिक विद्यालयलाई जनही रु. ५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको क्लबका सचिव राकेश रानाले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा ले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने बताउँदै नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे । विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सीता थापा ले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेको बताइन् । उनले खेललाई केवल प्रतिस्पर्धाका रूपमा नभई सिकाइ, सहकार्य र आत्मविश्वास अभिवृद्धिको माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन् ।

चौतारा स्पोर्टिङ क्लबका अध्यक्ष सविन श्रेष्ठ ले प्रतियोगिताको मुख्य उद्देश्य नगरभित्र रहेका प्रतिभावान खेलाडीको पहिचान तथा नयाँ पुस्ताका फुटबल खेलाडी उत्पादन गर्नु रहेको बताए । विद्यालयस्तरबाटै खेलकुद संस्कृतिको विकास गर्न क्लबले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने उनले जानकारी दिए ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पनि प्रतियोगिताले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताएका छन् । विजेता तथा अन्य टोलीका खेलाडीहरूले खेलमार्फत नयाँ अनुभव प्राप्त भएको, विभिन्न विद्यालयका साथीहरूसँग चिनजान र प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर मिलेको प्रतिक्रिया दिएका थिए । उनीहरूले आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजान सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।

प्रतियोगिता अवधिभर खेल मैदानमा विद्यार्थी, शिक्षक, तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरीय खेलकुद गतिविधिलाई थप चलायमान बनाउनुका साथै नगरभित्र रहेका युवा खेलाडीहरूको क्षमता उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको छ
।

प्रतिक्रिया दिनुहोस्