चोैतारा | चौतारा साँगाचोकगढी नगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका ३ सय १३ जना विद्यार्थीहरूलाई एक विशेष कार्यक्रममार्फत सम्मान गरेको छ । नगर शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा सामुदायिक विद्यालय, कार्यरत शिक्षक तथा विद्यार्थीहरूलाई “सामुदायिक विद्यालय, शिक्षक तथा अध्ययनरत विद्यार्थी सम्मान तथा पुरस्कार कार्यविधि २०८१” अनुसार सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा मापदण्डका आधारमा कृष्ण रत्नगंगा माध्यमिक विद्यालय नगरपालिकामा प्रथम हुन सफल भएकोमा विद्यालयलाई नगद रु. १ लाख सहित प्रशंसा पत्र प्रदान गरिएको छ । त्यस्तै, सेतीदेवी माध्यमिक विद्यालय ठुलोसिरुवारी दोस्रो स्थानमा र ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालय तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी, विषयगत उत्कृष्ट नतिजा हासिल गराउने शिक्षकहरूलाई समेत प्रशंसा पत्रसहित सम्मान गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले एसइई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझै सफलताको शुभकामना व्यक्त गरे । उनले उत्कृष्ट नतिजा हासिल गर्न योगदान पुर्याउने शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिप्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, नगर उपप्रमुखले पनि विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतकै कारण राम्रो नतिजा सम्भव भएको उल्लेख गर्दै नगरपालिका निरन्तर शैक्षिक क्षेत्रको विकासमा लागिरहेको बताइन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता सम्मान कार्यक्रमले आफूहरूलाई थप अध्ययन र मेहनत गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । उनीहरूले स्थानीय सरकारबाट प्राप्त सम्मान र उपलब्धिको कदरले आफूहरू गौरवान्वित भएको बताएका छन् । साथै, आगामी दिनमा थप अध्ययनका लागि छात्रवृत्ति तथा अन्य प्रोत्साहन कार्यक्रम विस्तार हुने अपेक्षा समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्