चौतारा/ प्रतिनिधि सभा सदस्य तथा प्रमुख सचेतक युवराज दुलाललाई प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सदस्यका रूपमा मनोनयन गरिएको छ। संसद्को महत्वपूर्ण समितिमध्ये एक मानिने यस समितिमा उनको सहभागितासँगै सुशासन, प्रशासनिक सुधार र जवाफदेहिता सम्बन्धी विषयमा उनको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ।
राज्यव्यवस्था तथा सुशासन समितिले मुलुकको सार्वजनिक प्रशासन, कानुनी संरचना, सेवा प्रवाह तथा भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित विषयहरूमा निगरानी र नीति–सुझाव दिने काम गर्दछ। यस्तो समितिमा दुलालको सहभागिताले संसदीय नीतिगत बहस र सुधारका एजेन्डालाई अगाडि बढाउन थप ऊर्जा मिल्ने विश्वास गरिएको छ।
यसअघि बागमती प्रदेशमा सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीको रूपमा काम गरिसकेका दुलाल विकासमुखी नेताका रूपमा परिचित छन्। सडक, पूर्वाधार तथा सामाजिक क्षेत्रमा देखिएको उनको सक्रियता अब सुशासन र संस्थागत सुधारतर्फ पनि विस्तार हुने संकेत देखिएको छ।
प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हालिरहेका दुलालको यो नयाँ भूमिकाले संसद र पार्टी समन्वयसँगै नीतिगत हस्तक्षेप क्षमता थप बलियो बनाउने अपेक्षा गरिएको छ। उनी निकट स्रोतका अनुसार, समितिमा रहेर सार्वजनिक सेवा प्रवाहलाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा विशेष जोड दिने तयारीमा छन्।
सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित दुलाललाई स्थानीय स्तरमा विकासप्रेमी नेताका रूपमा लिइन्छ। अब उनको भूमिका प्रदेश र क्षेत्र सीमाभन्दा माथि उठेर राष्ट्रिय शासन प्रणाली सुधारसँग जोडिने देखिएको छ।
यस मनोनयनसंगै दुलाललाई “विकास गर्ने नेता” बाट “सुशासनमा पनि हस्तक्षेप गर्ने नेता” का रूपमा स्थापित गर्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
प्रतिक्रिया दिनुहोस्