२०८१ श्रावण १२
                           

चौतारा नगरमा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको स्वास्थ्यमन्त्री बस्नेतद्धारा शुभारम्भ

चौतारा, १९ माघ – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बाहादुर बस्नेतले देशभरका १ सय स्थानीय तहमा हुने ‘क्षयरोग मुक्त नेपाल घोषणा अभियान’ सिन्धुपाल्चोकको चौतारा नगरपालिकाबाट शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले क्षयरोग मुक्त नेपालका लागि औषधि उपचारका साथै जनचेतना आवश्यक रहेको र क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम भएको बताउँनु भएको छ । चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि रोगको निदानका लागि जनचेतना नै महत्त्वपूर्ण रहेने मन्त्री बस्नेतको भनाई छ । मन्त्री बस्नेतले रोग लागेपछि ओैषधि उपचार गर्ने भन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा मन्त्री बस्नेतको जोड छ ।

यो अभियानका लागि देशभरका एक सय स्थानीय तहले ’क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि २७ करोड ४ लाख  विनियोजन गरिएको छ । सिन्धुपाल्चोकका १२  स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविशे नगरपालिका र हेलम्बु गाँउपालिकामा लागु गरिएको छ । यस लागि १ करोड ४१ लाख ७५ हजार बजेट छुुट्याएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले अभियानको बिषयमा प्रस्तुतिकरण गर्नुहुँदै प्रतिवर्ष २ सय २९ जना क्षयरोगका विरामीहरु भेटिने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । तथ्यांक प्रस्तुत गर्ने क्रममा बागमती, मधेश र लुम्बिनीमा क्षयरोगका बिरामी बढि देखा परेको बताउनुभयो ।क्षयरोग उन्मूलनका लागि सरकारले दक्ष जनशक्ति, निःशुल्क औषधिसँगै उच्च प्रविधि मार्फत रोग पत्ता लगाउने विभिन्न उपाय उपलब्ध गराउँदा–गराउँदै पनि अझै समाजमा आधा भन्दा बढी क्षयरोगीहरू उपचार गर्न नआएकाहरुलाई उपचार गराउने राष्ट्रिय क्षयरोग केन्द्रका डा.  श्रेष्ठले बताउनु भयो । क्षयरोगको उपचार गराउन नआएका मानिसले नै क्षयरोग फैलाई रहेकाले आम नागरिक क्षयरोग मुक्त नेपाल बनाउनका लागि स्थानीय तहलाई जुट्न समेत उहाले आग्रह गर्नुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिका कृष्णप्रसाद सापकोटाले यो अभियानलाई स्थानीय तहको नीति, योजना, बजेट र कार्यक्रममा प्राथमिकतामा राखेर लागि पर्ने बताउनु भयो । सो कार्यक्रमको स्वागत मनत्व्य सीता थापाले राख्नुभएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगीता  कौशल मिश्र ,सुरक्षा निकायका प्रमुख ,चौतारा अस्पतालका प्रमुख ,चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका , हेलम्बु गाउँपालिका जनप्रतिनिधिहरू जिल्लाका प्रशासकिय प्रमुखहरु लगायतकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्