नेपाल पत्रकार महासंघले विज्ञापन नीति पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई भेट गरी ध्यानाकर्षणपत्र बुझाएको छ ।
अध्यक्ष शर्माले सरकारको पछिल्लो विज्ञापन नीतिले समग्र सञ्चार क्षेत्र प्रभावित हुन सक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेकी छिन् । सो अवसरमा सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिका विषयमा छलफल भएको थियो ।

गत १८ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी निर्देशनमा सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएपछि पत्रकारसँग सम्बन्धित संघसंस्थाले विरोध गर्दै आएका छन् ।
सरकारले भने सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन–प्रसारणमा पारदर्शिता ल्याउन र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ ।
सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको तथा बिचौलियाको प्रभाव बढेको देखिएकाले यस्तो निर्णय गर्नुपरेको दाबी गरेका थिए । उनले आफू सधैँ श्रमजीवी पत्रकारको पक्षमा रहेको र जायज माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्