२०८२ चैत्र ११

सिन्धुपाल्चोकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार जिल्ला स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम चौतारास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोकबाट मेलम्ची नगरपालिका ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमका लागि छनोट गरिएको जानकारी दिइयो । कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय समिति उपप्रमुख पदमनाथ नेपाल, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, डब्लुएचओ (WHO) बागमती प्रदेशका प्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले कार्यक्रमको उद्देश्य, कार्यक्षेत्र र कार्यान्वयन प्रक्रियाबारे जानकारी गराएका थिए ।


कार्यक्रममा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘स्वस्थ शहर कार्यान्वयन निर्देशिका २०८२’ सम्बन्धी जानकारी समेत दिइएको थियो । उक्त कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला स्तरीय स्वस्थ शहर समन्वय समिति गठन गरिएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका सबै १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ शहर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यसअन्तर्गत प्रत्येक जिल्लाबाट एक-एक स्थानीय तह छनोट गरी स्वस्थ, सुरक्षित र दिगो शहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने तथा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । यससँगै प्रदेशका १३ वटै जिल्लामा उक्त अभियान औपचारिक रूपमा सुरु भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्