सिन्धुपाल्चोकको सानोसिरुवारीस्थित श्री सिद्धीगणेश माध्यमिक विद्यालयमा नयाँ भवन निर्माणसँगै खुशीको माहोल छाएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीयबासीहरूले विद्यालयको भौतिक पूर्वाधार सुदृढ बनाउन सहयोग पुर्याउने जर्मन संस्था ‘नेपाल हिल्फे वाइलग्रिस’को टोलीलाई फूलमालासहित आत्मीय स्वागत गरेका छन्।

जनहित ग्रामीण सेवा समितिको समन्वय र जर्मन संस्थाको आर्थिक सहयोगमा करिब एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन हाल विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। सेमिनार हलसहित ६ कोठे सुविधासम्पन्न भवनले विद्यालयको शैक्षिक गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
विद्यालय प्रशासनका अनुसार नयाँ संरचनामा विद्यार्थीहरूका लागि व्यवस्थित कक्षा कोठा, दिवा खाजाका लागि भान्साघर, आधुनिक शौचालय, पार्किङ क्षेत्र लगायतका आवश्यक पूर्वाधार समेटिएका छन्। साथै, आवश्यक फर्निचरको व्यवस्थासमेत गरिएकोले पठनपाठनलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद युवराज दुलाल ले यस्तो सहयोगले ग्रामीण भेगका विद्यालयहरूको मुहार फेरिने बताएका छन्। उनले भने, “शिक्षामा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार हो। हिल्फे जस्ता संस्थाहरूको निरन्तर साथले यहाँका बालबालिकाले गुणस्तरीय शिक्षा पाउने वातावरण बन्दै गएको छ।”
उनले थप्दै स्थानीय तह, समुदाय र अन्तर्राष्ट्रिय सहयोगबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै यस्ता पहललाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे। नयाँ भवनले विद्यार्थीहरूको सिकाइ वातावरणमा सकारात्मक परिवर्तन ल्याउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्