‘मेरा छोराछोरी त खाना खानै मान्दैनन्, दुब्लाएर टाट भइसके, के गर्ने ? उनीहरूलाई त चक्लेट र आइसक्रिम मात्र भए पुग्छ !’
धेरै आमाबाबुले यस्तो गुनासो गरेको प्रायः सुनिन्छ । वास्तवमा यस्तो भन्ने घरमा समस्या केटाकेटीमा होइन, आमाबाबुको बानीमा देखिन्छ । जबसम्म आमाबाबुले आफ्नो बानीबेहोरा सुधार गर्दैनन्, तबसम्म केटाकेटीको खानासम्बन्धी बानीबेहोरा सुधार गर्न सकिंदैन ।
गाउँघरका आमाबाबुलाई छोराछोरीलाई पुल्पुल्याउने फुर्सद नै हुँदैन । केटाकेटीहरूले प्रायः घरमा जे पाक्छ अरूसरह नै खाएका हुन्छन् । गाउँमा त ३-४ वर्षका बालबालिकाले भान्छामा सँगै बसेर आफैं भात पनि खान्छन् । उनीहरूले आमाबाबुलाई ‘भात खान्न केक खान्छु’ भन्दैनन् ।
तर शहरतिर भने प्रायः आमाहरूले केटाकेटीलाई घरको पौष्टिक अन्न आलु वा पीठोबाट बनाइएका खानेकुरा दिन छाडेर बट्टामा भएका खानेकुुराहरू दिन्छन् । तर आमाबाबुले यो थाहा पाउँदैनन् कि प्रायः बट्टाका महँगा खाना पनि चामल वा गहुँको पीठोबाट नै बनाइएको हुन्छ । यसमा चिनी मिसाएर गुलियो पारिएको हुन्छ । यसलाई बालबालिकाले बढी मन पराउने भएकोले यी खानेकुरा घरका भन्दा अत्यधिक महँगा हुन्छन् तर पौष्टिकचाहिं अचाक्ली कम नै प्राप्त हुन्छ ।
यसरी बालबालिकामा चिनी नहालेको खानेकुरामा रुचि कम हुँदै जान्छ । अनि एक/दुई वर्षको हुँदा त घरको खाना खाने बानी नै छुट्छ ।
बालबालिकाको यो प्रवृत्तिलाई हतोत्साही गर्नुको सट्टा अभिभावकले परिवारका सदस्य वा साथीहरूसँग ‘यसले त घरको खाना खाँदैन, बजारबाट नै किनेर ल्याउनुपर्छ’ भनेर गलत कुराको प्रोत्साहन बालबालिकालाई गर्छन् । मेरो खानाको विषयमा घरपरिवार चिन्तित छन् भन्ने विचार गर्दै आफूलाई महत्व दिएकोमा बालबालिका गर्व गर्छन् र त्यही अनुसार झन्-झन् फुर्किंदै, बानी बिगार्दै जान्छन् ।
अनि त स-साना बालबालिकादेखि लिएर किशोरकिशोरीले पनि सडक, बजार, स्कुल, क्याम्पस, पिकनिकमा विभिन्न थरीका चाउचाउ र चिप्सका प्याकेट लिएर मजा लिंदै खाएको देखिन्छ । बालबालिकालाई घरैको खाजा दिनुको सट्टा हातमा पैसा दिंदा उनीहरूको खानेबानी बिग्रन्छ । मैले त बजारका यस्ता खानेकुरालाई मन्दविष नै भन्ने गरेकी छु । तर आमाबाबुले आˆना सन्तानलाई विस्तारै ‘मन्दविष’ दिएको पत्तै पाउँदैनन्।
‘बजारका खानेकुरा नदिएर के गर्ने हो, अरू केही खाँदै खाँदैन लौ न कसरी काम चलाउने होला’ भन्ने विचार गर्ने बाबुआमाले के बिर्सनुहुँदैन भने आजभन्दा ३०-४० वर्षअगाडि हाम्रो देशमा प्याकेटका खानेकुरा र बट्टाका महँगो गहुँ र चामलको पीठो नआउँदा घरमा बच्चाहरूलाई लिटो, जाउलो आदि बनाएर ख्वाउने गरिन्थ्यो र उनीहरू स्वस्थ पनि हुन्थे । पैसा पनि धेरै पर्दैनथ्यो । त्यसैले बच्चालाई बजारका महँगा खाना चाहिन्न्ा ।
शिशुलाई विज्ञापनको भरमा नपरेर घरमै बनाएको खानेकुरा दिन जोड दिनुपर्छ । बजारका खानेकुरामा कुहिएको वस्तु हालेको छ भने पनि थाहा हुन्न र विष शरीरमा जान्छ ।बालबालिकाले खानेकुरा खान समय लगाउँछन् भनेर जबरजस्ती कोच्याउने बानी गर्यो भने पछिसम्म पनि उनीहरूलाई त्यसैगरी ख्वाउने बानी बस्छ । कतिपय घरमा त १२-१३ वर्षको हुँदासम्म आमा, दिदी, बज्यै वा घरमा राखेका सहायक व्यक्तिले खुवाएको पनि देखिन्छ । यसले बच्चालाई खाँदा अरूको भरपर्ने बानी बस्छ ।
स्वतन्त्र रूपले खाने बानी विकसित हुन गाह्रो हुन्छ । मेरा छोरीहरूलाई सानो छँदा खाना खुवाउँदै म भन्थें, ‘जे पाकेको छ त्यही खानुपर्छ, खान मन लाग्दैन भने उठेर गए हुन्छ, तर यो हरियो तरकारी र दाल खान्न, चाउचाउ र कुरमुरे खान्छु भन्न पाइँदैन ।’ मेरो कडा बोलीले छोरीको अनुहार अँध्यारो भए पनि वास्ता गरिनँ । विस्तारै मेरा छोरीहरूले बुझेकी आमालाई ‘ब्ल्याकमेल’ गर्न सकिन्न । भान्छामा जे पाकेको छ, त्यही नखाए भोकै परिन्छ । उनीहरूप्रति फोस्रो माया नदेखाएको हुनाले मेरा दुवै छोरी अहिले स्वस्थ, नागरिक छन् । अरुणा उप्रेती
प्रतिक्रिया दिनुहोस्