काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ निर्वाचित आफ्ना ५७ जना सांसदहरुको सिफारिस गर्दा धेरैले एउटा नामको खोजी गरे, जुन सूचीमा समावेश थिएन । त्यो नाम हो, प्रमोद न्यौपाने ।
खस-आर्य पुरुषतर्फ तेस्रो नम्बरमा रहेका न्यौपाने समानुपातिक सांसदमा छनोट हुने ९९ प्रतिशत निश्चित मानिएको थियो । यसका मुख्य तीन कारण थिए । पहिलो, उनको योग्यता र क्षमता, दोस्रो– पार्टीमा खेलेको भूमिका र तेस्रो, सभापति रवि लामिछानेसँग व्यक्तिगत निकटता । उनी बाहिरिनुलाई रास्वपाभित्रै आश्चर्यको रुपमा हेरिएको छ ।
न्यौपाने रास्वपाको कुनै पनि औपचारिक पदमा छैनन् । तर, उनी पार्टीभित्र लोकप्रिय अनुहारहरुमध्ये पर्छन् । बालेनसँग एकताअघि समानुपातिक उम्मेदवार छान्न रास्वपाले गरेको आन्तरिक चुनाव (प्राइमरी इलेक्सन) मा उनलाई दोस्रो सर्वाधिक मत आएको थियो । यो लोकप्रियताका पछाडि पार्टीको नीति र नेतृत्वको रक्षाका लागि उनले गरेको याेगदानको ठूलो हात छ ।
रास्वपाको नेतृत्वपङ्क्तिमै रहेका धेरै नेताहरू राजनीतिमा सिकारु अवस्थामै छन् । कतिपयसँग कुनै राजनीतिक पृष्ठभूमि र आधारभूत ज्ञानसमेत थिएन । यस्तोमा पार्टीका औपचारिक दस्तावेज लेखनदेखि सभापतिका वक्तव्य तयार गर्नसम्ममा न्यौपानेको खोजी हुने गर्थ्याे । अहिले पनि हुन्छ । लेखापढीकाे काममा रविले सबैभन्दा बढी भरोसा उनैलाई गर्छन् । पत्रकारिताको पृष्ठभूमिबाट आएको हुँदा न्यौपानेको मुख्य दक्षता पनि यही नै हो ।
सभापति लामिछाने सहकारी प्रकरणमा मुछिएर पक्राउ परेपश्चात न्यौपाने उनको प्रतिरक्षामा सबैभन्दा अग्रपंतिमा उभिए । लामिछानेविरुद्ध हालिएको मुद्दा कसरी राजनीतिक प्रतिशोधप्रेरित हो भनेर जनमानसलाई बुझाउन उनले अथक परिश्रम गरे । देशका अधिकांस सञ्चारमाध्यमहरूले सभापतिको विषयमा एक खालको भाष्य बनाइरहँदा त्यसलाई चिर्नमा सबैभन्दा बढी न्यौपानेको भूमिका देखिन्छ । यो मुद्दाको विषयमा उनले अनेकन भिडिओ बनाएर जनताले बुझ्ने गरी प्रष्ट पारिदिएका छन् ।
लामिछानेको पक्षमा जनसमर्थन जुटाउन रास्वपाले देशव्यापीरुपमा वृहद हस्ताक्षर अभियान सञ्चालन गर्यो, जुन निकै प्रभावकारी बनेको थियो । पार्टीका कोषाध्यक्ष दीपक बोहराको अगूवाइमा सञ्चालित अभियानमा देखिएको जनसहभागिताले सिंगो रास्वपाको मनोबल उकासेको थियो । यो अभियानका ‘ग्राफिक डिजाइनर’ न्यौपाने नै हुन्। अभियान सफल पार्न उनी दिनरात खटिएका थिए ।
पत्रकारिता पृष्ठभूमिका न्यौपाने गहिरो राजनीतिक चेत र तार्किक क्षमताका लागि चिनिन्छन् । उनकाे संसद प्रवेश सिंगो रास्वपाका लागि महत्वपूर्ण थियो । पत्रकारिता गर्दादेखि नै संसदीय राजनीतिलाई नजिकबाट नियाल्दै आएका उनले सांसदभित्र प्रभावकारी भूमिका निभाउने आशा रास्वपाजनले गरेका थिए । न्याैपाने राेकिँदा उनीहरु खिन्न बनेका छन् ।
न्याैपाने पत्रकारिता जीवनदेखि नै लामिछानेका सहयात्री हुन् । उनले न्युज २४ र त्यसपछि ग्यालेक्सी टिभीमा रविसँग सहकार्य गरेका थिए । रास्वपाको स्थापनाकालदेखि नै रविलाई साथ दिँदै आए पनि उनले पार्टीमा कुनै पद मागेनन् । एउटा साधारण सदस्यकै रुपमा उनले आफ्नो बर्कतले भ्याएसम्म काम गरे ।
स्रोतका अनुसार रास्वपाको बन्दसूचीमा पर्नलाई पनि उनले कुनै लविङ गरेका थिएनन् । सूचीमा प्राथमिकता क्रममा तल रहेकाले उनको सम्भावना अनिश्चित थियो । यसलाई निश्चित गराउने गरी प्राथमिकताक्रममा आफूलाई माथि सार्न उनले सभापतिलाई दवाव दिएनन् । रास्वपाले आमनिर्वाचनमा देशव्यापी लहरसहित समानुपातिकमा ५७ सीट जितेपछि भने उनी संसद छिर्नेमा आशावादी बनेको निकटस्थहरु बताउँछन् । पुरुषतर्फ ९ जनाको कोटामा उनी पर्ने सम्भावना बलियो देखिएको थियो ।
रास्वपाले समानुपातिकबाट सिफारिस भएकाहरुको सूची अज्ञात कारणले अहिलेसम्म गोप्य राखेको छ । तर, नेपाल प्रेसमार्फत सार्वजनिक भएको सूचीमा खस–आर्य पुरुषतर्फ रमेश प्रसाईं मात्रै अटाएका छन् । उक्त क्लस्टरमा दोस्रो स्थानमा रहेका सुदिप ढकाल र तेस्रोमा रहेका न्यौपाने दुवै फालिए । सुदीप बालेनको कोटाबाट बन्दसूचीमा परेका थिए ।
हरेक दलले संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनैपर्ने सम्वैधानिक व्यवस्था छ । प्रत्यक्षतर्फ १३ जना महिला जिताएको रास्वपाले ३३ प्रतिशत पुर्याउन समानुपातिकबाट ४८ जना महिला रोज्नुपर्ने थियाे। पुरुषहरुको कोटामा ९ सिट मात्रै बाँकी रह्याे। न्यौपाने अटाउन नसक्नुको आधारभूत कारण यो हो । तर, उनलाई समेट्नका लागि विकल्पहरु थिए । आदिवासी जनजाति क्लस्टरबाट दुई पुरुष र मधेसी क्लस्टरबाट एक पुरुष छनोट गरेर खस–आर्य पुरुषमा तीनजना पठाउने रविको योजना थियो । तर, बालेनले यसमा हस्तक्षेप गरेको स्रोतले बताएको छ ।
पार्टीको उच्च स्रोतका अनुसार बालेनले आदिवासी–जनजाति पुरुषतर्फ तेस्रो नम्बरमा रहेका मिङमा ग्याबु शेर्पा र मधेशी क्लस्टरतर्फ दोस्रो नम्बरमा रहेका खगेन्द्र कर्णलाई जसरी पनि समेट्नुपर्ने अडान लिए । अन्तत: रवि पनि त्यसमा तयार भए । बालेनले भने बमोजिम गर्दा ९ मध्ये ५ सिट दुई क्लस्टरले नै ओगटे । थारु कोटामा महिलातर्फ दुईजना मात्रै उम्मेदवार रहेकाले दुई पुरुष समावेश गर्नैपर्ने अनिवार्यता भयो । खस आर्यको पहिलो नम्बरमा रहेका रमेश प्रसाईं निर्विवाद थिए । बाँकी रह्यो एक सिट । त्यसमा दलित पुरुषबाट प्रकाशचन्द्र परियारलाई रोजियो ।
बालेनले शेर्पा र कर्णको नाममा किन कडा अडान लिए भन्ने चाहिँ खुलिसकेको छैन । शेर्पा एक पर्वतारोही र पर्यटन व्यवसायी हुन् । उनले ८ हजार मिटर अग्ला १४ वटा हिमाल चढ्ने कान्छो पर्वतारोहीको विश्वकिर्तिमान बनाएका छन् । विश्वकै खतरानाक भनेर चिनिने पाकिस्तानमा अवस्थित केटु हिमाल उनले ६ पटक चढेका छन् । शेर्पाको राजनीतिक निकटता भने एमालेतिर थियाे । उनी एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका सदस्य थिए ।
खगेन्द्र कर्ण भने कांग्रेस छाडेर आएका युवा हुन् । सप्तरी १ घर भएका उनी कांग्रेसको भातृ संगठन नेविसंघको ११ औं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिएर हारेका हुन् । बालेनकाे काेटाबाट रास्वपाको समानुपातिकमा परेपछि मात्रै उनले कांग्रेस छोडेको घोषणा गरेका थिए ।
समानुपातिक उम्मेदवारहरु छनोट गर्न भनेर हिजो रास्वपाको सचिवालय वैठक बसेको थियो । तर, यथार्थमा यो वैठक ‘बिरालो बँधाइ’ मात्र हो । सचिवालय वैठक अगाडि नै समानुपातिक सांसदहरुको सूची तयार भइसकेको थियो । रवि र बालेनले नाम फाइनल, गरे अनि वैठक बसिटोपलेर निर्णयको औपचारिकता पुर्याइयो । ज्वरोले थलिएका सभापति लामिछानेको निवासमै पुगेर बालेनले समानुपातिक सांसदबारे निर्णायक छलफल गरेका थिए । पार्टीको वैठकमा त उनी आउँदै आएनन् । सभापति लामिछाने अस्वस्थताका बाबजुद भिडिओ कलमार्फत जोडिएका थिए ।
वैठकपछि रास्वपाका पदाधिकारीहरु तैं चुप मै चुपको अवस्थामा छन् । निर्णयलाई बिरालोले केजाति लुकाएजस्तो लुकाउन खोजिएको छ । अनौपचारिक गफगाफमा पनि पार्टीका जिम्मेवार नेताहरु यो छनोटको व्याख्या गर्न सक्ने अवस्थामा छैनन् । उनीहरु यति मात्र भन्छन्– अहिले केही नबोल्ने भन्ने छ ।
समानुपातिक सिफारिसमा छुटेका न्यौपानेले भने पार्टीको निर्णय स्वीकार्ने बताएका छन् । उनले अहिले व्यक्तिगत न्याय अन्यायको हिसाबकिताब गर्ने बेला नभएको प्रतिक्रिया दिए ।
न्यौपानेले भने, ‘म इमानपूर्वक पार्टीको नीतिको वकालत र नेतृत्वको रक्षामा सक्रिय रहेको छु र रहने छु । इमान र सक्रियता मात्रै छनोटको आधार नहुन सक्छ ।’
‘अर्को कुरा यो व्यक्तिगत न्याय अन्यायको हिसाबकिताब गर्ने बेला होइन । पार्टीले मभन्दा योग्य र सक्षम देखेर धेरैलाई न्याय गरेको छ, यो नै महत्वपूर्ण हो,’ उनले थपे ।
नेपाल प्रेसबाट
प्रतिक्रिया दिनुहोस्