मेलम्ची — नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिको आयोजनामा मेलम्चीमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वंशलाल तामाङ ले मेलम्चीलाई सुन्दर मेलम्ची बनाउने र भूकम्प, बाढी तथा पहिरोबाट क्षति भएका संरचनाहरू पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले मेलम्ची हुँदै जाने सम्पूर्ण सीमा क्षेत्रहरूमा आवश्यक पुल निर्माण गरिने र हेलम्बु क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफू अनवरत रूपमा लागिरहने बताए। इन्द्रावती गाउँपालिकालाई जस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ लाई पनि देशभर चिनाउने लक्ष्यसहित विकासका कुनै पनि क्षेत्रमा कमी हुन नदिने प्रतिबद्धता तामाङले दोहोर्याए।

कार्यक्रममा उद्घोष गर्दै उम्मेदवार तामाङले मेलम्ची लगायत क्षेत्र नम्बर २ का सबै वडामा विद्यालयदेखि किसानसम्मलाई समेटेर समान किसिमको विकास गरिने उल्लेख गरे। “सबै क्षेत्रमा एकै ढाँचाको विकास गराउन आगामी फागुन २१ गते हुने निर्वाचनमा अत्यधिक बहुमतका साथ विजय गराइ एकपटक विकास गर्ने अवसर दिनुहोस्,” उनले मतदातालाई आग्रह गरे।
चुनावी सभामा विभिन्न दल परित्याग गरी दर्जनौँ व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्