चौतारा/ आसन्न प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ मा उम्मेदवारहरूले आफ्ना एजेण्डा सार्वजनिक गर्न थालेका छन्। यही क्रममा युवराज दुलाल “शरद” ले विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै सुशासन, पूर्वाधार विकास, कृषि संरक्षण र पर्यटन प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।
उम्मेदवार दुलालले देशमा देखिएको राजनीतिक अस्थिरता र जनतामा बढ्दो निराशालाई सम्बोधन गर्ने गरी स्थायित्व र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्। उनका अनुसार आगामी निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई विकासको स्पष्ट मार्ग तय गर्ने अवसर हो।
पाँच वर्षभित्र सबै वडा All Weather सडकले जोड्ने प्रतिबद्धता
दुलालले पाँच वर्षभित्र निर्वाचन क्षेत्रका सबै वडामा स्तरीय All Weather सडक सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मध्यपहाडी लोकमार्ग अन्तर्गत बाँकी निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गरिने दाबी गर्दै उनले ग्रामीण भेगमा यातायात पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको बताए।
खानेपानी तथा दीगो सिंचाइ प्रणालीको विकासमार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसमेत सार्वजनिक गरिएको छ।
कृषि क्षेत्रमा कानुनी पहल
कृषकलाई समयमा र सहुलियत दरमा मल उपलब्ध गराउने, जंगली जनावरबाट बाली जोगाउन कानुनी तथा नीतिगत व्यवस्था गर्ने र कृषि उपजको बजार सुनिश्चित गर्न पहल गर्ने उनले बताएका छन्। गुठी जग्गामा बसोबास गर्दै आएका किसानहरूको समस्या समाधानका लागि कानुनी प्रक्रिया अगाडि बढाइने पनि उनको प्रतिबद्धतामा उल्लेख छ।
चौतारा र मेलम्चीलाई विकास केन्द्र बनाउने योजना
चौतारालाई उच्च शिक्षा, प्राविधिक तालिम र स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने तथा आर्थिक गतिविधि विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ। त्यस्तै मेलम्चीलाई आर्थिक तथा पर्यटन केन्द्रका रूपमा विकास गर्ने एजेण्डा पनि अघि सारिएको छ। मेलम्ची–इन्द्रावती नदी तटीय क्षेत्रको संरक्षण र एकीकृत विकास योजनालाई प्राथमिकतामा राख्दै नदी किनारका बस्ती र कृषियोग्य जमिन संरक्षण गर्ने योजना प्रस्तुत गरिएको छ।
धार्मिक तथा पर्यटकीय स्थलको पूर्वाधार विकास
पाँचपोखरी, हेलम्बु, साँगाचोकगढी लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको व्यवस्थित पूर्वाधार विकास गरी स्थानीय अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य उम्मेदवार दुलालले सार्वजनिक गरेका छन्। पर्यटनलाई रोजगारी र आर्थिक अवसरसँग जोड्ने नीति अघि सारिएको छ।
“जनताको प्रतिनिधि बन्ने” प्रतिबद्धता
उम्मेदवार दुलालले जनप्रतिनिधि कुनै दल विशेषको मात्र नभई सम्पूर्ण नागरिकको प्रतिनिधि हुने दाबी गर्दै पारदर्शी र उत्तरदायी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दुःख–सुखमा नागरिकसँगै रहने र जनभावना अनुसार काम गर्ने उनले बताएका छन्।
प्रतिस्पर्धात्मक बन्दै निर्वाचन
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। विभिन्न दलका उम्मेदवारहरूले विकास र सुशासनका एजेण्डा सार्वजनिक गरिरहेका छन्। स्थानीय मतदाताले भने घोषणापत्रभन्दा कार्यान्वयन क्षमतामा जोड दिनुपर्ने धारणा व्यक्त गर्न थालेका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनले क्षेत्र नं. २ को आगामी राजनीतिक दिशा तय गर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्