काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको १८औँ कृति, बाल उपन्यास “साइबोर्ग” सार्वजनिक भएको छ । उपन्यासको लोकार्पण इर्टनल पब्लिकेसनकी प्रकाशक यमुना पराजुली र एजुकेशन पब्लिसिङ बुक हाउस काठमाडौं, जमलका प्रतिनिधि तथा व्यवस्थापकहरू शितल सुकुभटु, रमण राउट, भजन राउटले संयुक्त रूपमा गरेका थिए ।
उपन्यास “साइबोर्ग” विज्ञानमा आधारित बाल उपन्यास हो । प्रकाशक यमुना पराजुलीका अनुसार यसमा विज्ञानको उन्नतिले भविष्यमा मानव समुदाय र समाजमा कस्तो प्रभाव पार्न सक्छ भन्ने रोचक परिकल्पना समावेश गरिएको छ। विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चरम विकासले मानव जीवनमा ल्याउने सम्भावित चुनौतीहरू र मानव नै सृजित प्रविधिबाट पर्न सक्ने खतरा उपन्यासले प्रस्तुत गरेको छ ।
लेखक रसिकले भने , “बालबालिका र किशोरकिशोरीमा कल्पना, जिज्ञासा र तर्कशीलता बढाउन साइबोर्ग प्रभावकारी हुनेछ । यसले विज्ञान र भविष्यबारे सोच्न उत्प्रेरणा दिनेछ ।”
उपन्यासको मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ । लोकार्पणसँगै साइबोर्ग एजुकेशनल पब्लिसिङ बुक हाउस र रत्नपुस्तक भण्डारमार्फत बिक्रीमा आएको छ।
जितेन्द्र रसिकका यसअघि बाल साहित्यमा एलियनको पृथ्वी भ्रमण, हावा फल्ने रूख, एङ्ग्री बर्ड, बेलबहादुरसँग बिहे, गुलेली, हनुमानको करामत, जाडुगर एआई लगायतका कृति प्रकाशित भइसकेका छन् । लेखक रसिकका गजल, उपन्यास, संस्कृति र जीवनी सम्बन्धी ११ कृति तथा करिव एक दर्जन गीत–गजल रेकर्ड भइसकेका छन् । उनी नेपालभाषा, संस्कृति र साहित्यका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
साहित्यपोस्टबाट
प्रतिक्रिया दिनुहोस्