सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी कार्यालय सहयोगी (भान्से) शंकर कार्की पुनर्वाहाल भएका छन् ।
बासीरोटी दिएको आरोपमा निर्घात कुटपिटमा परेपछि सेवाबाट बर्खास्त गरिएका कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालयले साविककै पदमा पुनःस्थापना गर्ने निर्णय गरेको हो ।
७ महिना अगाडि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवराज खरेलले आफूलाई बासीरोटी दिएको भन्दै कार्कीमाथि कुटपिट गरेका थिए ।
घटनाको छानबिनपछि तत्कालीन प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीले डिएसपी खरेल माथि भान्से शंकर कार्कीले कुटपिट गरेको र प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै उनलाई सेवाबाट बर्खास्त गरेका थिए ।
सेवाबाट हटाइएपछि कार्कीले न्यायको खोजी गर्दै सञ्चारकर्मीमार्फत आफ्नो पीडा सार्वजनिक गरेका थिए । साथै, उनले बागमती प्रदेश प्रहरी कार्यालयमा समेत औपचारिक उजुरी दिएका थिए ।
प्रदेश प्रहरी कार्यालयले घटनाको पुनःछानबिन गर्दै पीडित कार्कीलाई साविककै पदमा पुनर्वाहाल गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी कार्कीको सरुवा भइसकेको छ भने डिएसपी खरेल सिन्धुपाल्चोकमा नै कार्यरत रहेका छन् ।
नेपाल प्रेसबाट
प्रतिक्रिया दिनुहोस्