सिन्धुपाल्चोक | सिन्धुपाल्चोकमा आगामी निर्वाचन नजिकिँदै जाँदा राजनीतिक समिकरण फेरिने संकेत देखिएको छ । जिल्लाका विभिन्न पालिकाबाट प्रभावशाली नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने क्रम तीव्र बनेको छ ।
जुगल गाउँपालिकामा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार बनेका जयबहादुर लामा नेकपामा समाहित भएका छन् । उनीसँगै २०७४ सालमा जुगल गाउँपालिका–३ बाट नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सानुकान्छा लामा पनि नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशी नेताहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक कार्यक्रममार्फत स्वागत गरेका थिए ।
सो अवसरमा जुगल गाउँपालिकाका पूर्व कार्यपालिका सदस्य उमेश कार्की, एमालेका स्थानीय नेता–कार्यकर्ता कान्छा नेपाली, छेवाङ लामा, जोनसेन लामा लगायतका दर्जनौँ व्यक्तिहरू पनि नेकपामा समाहित भएका छन् ।
जयबहादुर लामा स्थानीय तहको पहिलो निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार थिए भने २०७९ मा मनोनयनको अघिल्लो दिन एमाले प्रवेश गरी अध्यक्षका उम्मेदवार बनेका थिए । सानुकान्छा लामा पनि सोही समयमा एमालेमा प्रवेश गरेका थिए । जुगल गाउँपालिका एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको गृहपालिका हो । श्रेष्ठकै पहलमा लामालाई एमालेमा भित्र्याएर उम्मेदवार बनाइएको थियो ।

यसैबीच, केही दिनअघि मात्रै बाह्रविसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले सिन्धुपाल्चोकका चर्चित नेता निमफुन्जो शेर्पा पनि नेकपामा समाहित भएका थिए । एमाले परित्यागको घोषणा गरेका शेर्पा काठमाडौंमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन् ।
चुनावी अभियानका क्रममा जुगल पुगेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटाले छोटो अवधिमै जुगल क्षेत्रमा राजनीतिक महत्व राख्ने नेताहरूलाई नेकपामा समाहित गराउन सफल भएको भन्दै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उमेदवार सापकोटालाई बधाई समेत दिए ।
जिल्लामा प्रभावशाली नेताहरूको निरन्तर प्रवेशलाई नेकपाले संगठन विस्तार र आगामी निर्वाचनको रणनीतिक तयारीका रूपमा लिएको छ । यस घटनाक्रमले सिन्धुपाल्चोकको राजनीतिक समीकरणमा नयाँ तरंग सिर्जना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्