२०८२ चैत्र १४

युवराज दुलाल को हुन् ?

युवराज दुलाल समकालीन नेपाली राजनीतिक परिदृश्यमा संघर्ष, समर्पण र जिम्मेवारीको सशक्त प्रतिनिधि व्यक्तित्व हुन् । जनआन्दोलनको भूमिगत संघर्षदेखि प्रदेश सरकारको मन्त्रीपरिषद्सम्म आइपुगेको उनको राजनीतिक यात्रा अनुभव, सिद्धान्त र व्यवहारको सन्तुलित समन्वयको उदाहरण हो । बागमती प्रदेशको राजनीतिक तथा विकास प्रक्रियामा उनको योगदान उल्लेखनीय रहेको छ ।
वि.सं. २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७, सानो सिरुवारीमा जन्मिएका युवराज दुलाल गुरुप्रसाद दुलाल र झम्कमाया दुलालका सुपुत्र हुन् । पारिवारिक जीवनमा उनी श्रीमती पार्वती दुलाल तथा छोरी अनिशा र छोरा अनिशसँग आबद्ध छन् । पारिवारिक संस्कार, सामाजिक उत्तरदायित्व र अनुशासनले उनको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
शैक्षिक रूपमा दुलाल राजनीतिशास्त्र विषयमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त उच्च शिक्षित नेता हुन् । अध्ययन, विश्लेषण र व्यवहारिक राजनीतिलाई सँगसँगै अघि बढाउनु उनको राजनीतिक विशेषता मानिन्छ ।
उनको राजनीतिक जीवन २०५१ सालदेखि अखिल क्रान्तिकारीमा संगठित भई प्रारम्भ भएको हो । २०५२ सालदेखि माओवादी आन्दोलनमा सक्रिय रहँदै उनले विभिन्न जिम्मेवारीहरू निर्वाह गरे । जनयुद्धका कठिन र संवेदनशील कालखण्डमा उनले जनमुक्ति सेनाको बिग्रेड कमाण्डरको भूमिकामा रही संगठन निर्माण र आन्दोलनको नेतृत्व प्रदान गरे । संघर्षकालीन अनुभवले उनको राजनीतिक दृष्टिकोणलाई परिपक्व बनाएको पाइन्छ ।
शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा प्रवेश गरेका दुलाल २०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघ सम्म गरि दुइ पटक बागमती प्रदेश सभा सदस्यका रूपमा निर्वाचित भए । यस अवधिमा उनले बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री (२०७४ फागुन–२०७७ पौष) तथा भौतिक पूर्वाधार विकास मन्त्री (२०७९ माघ–२०८१ श्रावण) को जिम्मेवारी कुशलतापूर्वक सम्हाले । मन्त्रीका रूपमा उनले जनमुखी, योजनाबद्ध विकास, सामाजिक न्याय, पूर्वाधार विस्तार र संस्थागत सहकार्यलाई प्राथमिकतामा राख्दै कार्य सम्पादन गरे ।
हाल युवराज दुलाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यका रूपमा सक्रिय छन् । यही राजनीतिक यात्राको निरन्तरतामा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ बाट उमेदवारी दिएका छन् । जनताको प्रत्यक्ष प्रतिनिधिका रूपमा संघीय सांसद पुगेर क्षेत्रको विकास र जनआवाजलाई राष्ट्रिय तहमा पुर्‍याउने उनको प्रतिबद्धता रहेको देखिन्छ ।
जनभावना बुझी समग्रमा भन्नुपर्दा, युवराज दुलाल विचार, संघर्ष र अनुभवको संगम हुन् । राजनीतिक स्थिरता, जनउत्तरदायित्व र विकासप्रतिको दृढ प्रतिबद्धताका कारण उनी नेपाली राजनीतिमा भरोसायोग्य, अनुभवी र प्रभावशाली नेताका रूपमा स्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्