२०८१ जेष्ठ ८

मानेश्वाराका विमल आफ्नै ब्यवसायमा ब्यस्त, गाउँमै मेटा साबुन उद्योग

वैशाख १८, सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका वडा नं ८, मानेश्वाराका ३२ वर्षीय विमल राउत अहिले आफ्नै ब्यवसायमा ब्यस्त छन् । जागिरे जीवन छोडेर उनले छ महिना अघिगाउँमै मेटा साबुन उद्योग  खोले । उद्योगबाट राउतले राम्रो आम्दानीसँगै चर्चा र शुभकामना पनि कमाइरहेका छन् ।

उनी परिवारका सदस्यहरुसँग मिलेर लुगा धुने साबुन बनाइरहेका हुन्छन् । आसपासका विभिन्न स्थानमा साबुन पुर्याउँछन् । कतिपय भने राउतको कारखाना मै पुगेर पनि साबुन खरिद गर्छन् । बजारबाट ल्याउने साबुनको कारखाना गाउँमै स्थापना भएपछि स्थानीय पनि खुसी छन् ।

साबुन कसरी बनाइन्छ भनेर थाहा नभएकाहरु अहिले साबुन बनाएर बेचिरहेका मात्रै छैनन, दैनिक रुपमा आबश्यक पर्ने साबुन आफैंले बनाउन सकिन्छ भनेर पुष्टि गरिरहेका छन् । आफ्नै गाउँठाउँमा केहि गर्नुपर्छ भन्ने सोच भएर साबुन उद्योग सञ्चालनमा ल्याएको राउत बताउँछन् ।

उनी भन्छन्, “पहिले देखिनै गाउँमै केहि गर्छु भन्ने लाग्थ्यो, बिचमा विदेश जान्छु भन्ने पनि लाग्यो, अहिले आफ्नै ठाउँमा सानोतिनो उद्योग सञ्चालन गरेको छु ।” सुरुवाती चरणमा लुगा धुने साबुन मात्र बनाइरहेका उनले बजारको अध्ययन पछि नुहाउने साबुन र डिटर्जेन्ट पनि बनाउने लक्ष्य सुनाए ।

आफ्नो नयाँ ब्राण्ड भएपछि बजारमा नाम चलेका ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न कठिन हुने राउतको भोगाइ छ । तर साबुन लगेर प्रयोग गर्नेहरुबाट भने सकारात्मक प्रतिक्रिया पाएको उनी बताउँछन् । अहिलेसम्म सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे, भोटेकोशी, बलेफी गाउँपालिकामा उनको ब्राण्डले बजार पाउन थालेको छ ।

जिल्लाभरि नै आफ्नो उत्पादन टिकाइराख्ने उनको लक्ष्य छ । उत्पादनले राम्रो बजार पायो भने अन्य युवालाई समेत रोजगारी दिनेमा राउत विश्वस्त छन् । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन र युवाहरुलाई स्वदेशमै रोजगार बनाउने उदेश्यमा सहयोग गर्न अनुरोध समेत गरे ।

जम्मा २५ लाखको लगानीमा उनले साबुन उद्योग सञ्चालन गरेका थिए । अहिले सुरुवाती चरणमा खर्च कटाएर मासिक ३० देखि ३५ हजार सम्म आम्दानी भइरहेको उनी बताउँछन् । २०८० बैशाखमा कम्पनी दर्ता, असारमा जिल्ला घरेलु कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरेर आफ्नो काम अगाडि बढाएका राउतले सुरुमा तालिम लिएर सिप सिकेका थिए ।

आफैंले बिज्ञता हासिल गर्दै अघि बढेका उनलाई स्याबासी र शुभकामना दिनेहरु बढीरहेका छन् ।

साभार पालुवा न्युज

प्रतिक्रिया दिनुहोस्