– जीवन श्रेष्ठ
चुनावी सरगर्मी बढेसँगै देशभर घण्टी बज्न थाले पनि सिन्धुपाल्चोकमा भने यसपटक घण्टी मन्दिर र पूजाकोठीमा मात्र सीमित हुने संकेत देखिएको छ । सिन्धुपाल्चोकका घण्टीधारीहरूबीच आन्तरिक घम्साघम्सी सुरु भएपछि जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपेक्षित माहोल ताताउन सकेको छैन।
दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर २ का लागि ‘टुरिस्ट उम्मेदवार’का रूपमा अजय श्रेष्ठलाई मैदानमा उतारेपछि रास्वपाभित्रै असन्तुष्टि चुलिएको हो । काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहका ‘पकेट म्यान’का रूपमा चिनिने क्षेत्र नम्बर १ का श्रेष्ठलाई क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनाइएपछि रास्वपाका पुराना नेता–कार्यकर्ता असन्तुष्ट देखिएका छन्। कोही खुला रूपमा चिढिएका छन्, कोही मौन बसेका छन् भने केहीले त खुलेआम घण्टीमा भोट नहाल्न आह्वानसमेत गर्न थालेका छन्।
बालेन नजिकका व्यक्तिलाई टिकट दिइएपछि पार्टीभित्र ‘रास्वपामा बालेन हावी हुँदै गएको’ अनुभूति पूराना कार्यकर्तामा देखिन थालेको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा घण्टीबाट उम्मेदवार बनेकी पर्वतारोही माया गुरुङ यस निर्णयबाट सबैभन्दा बढी प्रभावित मात्र भएकी छैनन्, उनी खुलेर असन्तुष्टि व्यक्त गर्नेहरूमध्ये पनि अग्रपंक्तिमा देखिइन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट झण्डै २४ सय मत ल्याएर पराजित भएकी गुरुङ रास्वपाकी सिन्धुपाल्चोकी संस्थापक सभापतिसमेत हुन्।
यसपटक आफूलाई पन्छाएर अर्कै उम्मेदवार खडा गरिएपछि उनले सामाजिक सञ्जालमार्फत ‘नो भोट’ भन्दै घण्टीलाई भोट नहाल्न आह्वानसमेत गरिन्। तर उक्त उर्दी एक सातासमेत टिक्न सकेन। उनले पछि आफ्नो पोस्ट डिलिट गर्दै सबै असन्तुष्टि थाँती राखी पार्टी उम्मेदवारलाई जिताउनुपर्ने सन्देश दिइन्।
‘भ्यागुताको उफ्राइ’भन्दा माथि जान सक्ने अवस्था छैन। ‘चुनाव जित्न धार्नी पुग्नुपर्छ, तर घण्टीधारीहरूको धार्नी नै पुग्ने छाँट देखिँदैन,’
यद्यपि क्षेत्र नम्बर २ मा अझै पनि अधिकांश घण्टी समर्थकहरू चुपचाप छन्। उम्मेद्वार श्रेष्ठ सानो घेरामा सीमित भएर मत माग्दै हिँडिरहेका छन् भने पूराना कार्यकर्ताले आफूहरूसँग कुनै सहकार्य नगरेको आरोप लगाउँदै आएका छन्।
क्षेत्र नम्बर २ को तुलनामा क्षेत्र नम्बर १ मा भने घण्टीको उर्वरता केही बढ्दो देखिन्छ। तर राजनीतिक विश्लेषकहरूका अनुसार यो उभार ‘भ्यागुताको उफ्राइ’भन्दा माथि जान सक्ने अवस्था छैन। ‘चुनाव जित्न धार्नी पुग्नुपर्छ, तर घण्टीधारीहरूको धार्नी नै पुग्ने छाँट देखिँदैन,’ एक विश्लेषक भन्छन्।
यस क्षेत्रमा रास्वपाले एमालेका पुराना नेता तथा जलविद्युत् व्यवसायी भरत पराजुलीलाई उम्मेदवार बनाएको छ। उम्मेदवारकै विषयमा भने यहाँ खासै विवाद देखिँदैन। तर पूराना दलको बलियो संगठन चिर्दै अघि बढ्नु पराजुलीका लागि महाभारतसरह हुने चर्चा छ । कार्यकर्ता कमजोर भएपछि उनले आफ्नै जलविद्युत परियोजनाका जागिरेहरूलाई चुनावी अभियानमा खटाएको आरोपसमेत लागिरहेको छ।
सांगठनिक रूपमा सबैभन्दा बलियो एमालेको उम्मेदवार यस क्षेत्रमा सरेश नेपाल हुन्। जिविस सभापति हुँदै प्रदेश सांसदसमेत भइसकेका नेपाल २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेद्वार बनेका थिए। करिब २७ हजार मत ल्याएर तत्कालीन नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटा ‘सुबोध’सँग तीन हजार ३ सय ४२ मतको अन्तरले पराजित भएका थिए।
त्यसले उनी शक्तिशाली उम्मेदवार भएको देखाए पनि पार्टीभित्रकै गुट–उपगुट र अन्तरकलहका कारण यसपटक पनि जित निकाल्न उनलाई ‘फलामको चिउरा चपाउनु’सरह हुने एमालेकै कार्यकर्ताहरू बताउँछन्। असन्तुष्ट पक्ष मिलाउनमै झण्डै एक महिना लाग्ने उनीहरूको भनाइ छ, तर त्यतिन्जेल चुनाव सकिइसक्नेछ।
एमालेभित्रको असन्तुष्टिका बीच भरत पराजुली र जेपी सिलवालजस्ता नेताहरूले घण्टी समाउँदै बाटो तताएपछि सरेश नेपालको जित झन् अनिश्चित बनेको छ। त्यसमाथि एमालेका खम्बा मानिने बाह्रविसे नगरपालिकाका पूर्व मेयर निम्फुञ्जो शेर्पा पार्टी छाड्दै सरेश नेपाल हराउने अभियानमै खुलेर लागेपछि उनको ग्राफ ओरालो लागेको बताइन्छ। एमाले संस्थापनबाट पेलानमा परेका शेर्पा आजै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने स्रोतको दाबी छ।
यस क्षेत्रको राजनीतिमा कांग्रेस नेता मोहन बस्नेत निर्णायक पात्रका रूपमा हेरिएका छन्। बस्नेतको सहयोग एमाले उम्मेद्वार नेपाललाई नहुने संकेत देखिँदा कांग्रेस उम्मेदवार जंगबहादुर लामाको जित पनि अनिश्चित देखिन्छ। जनमतका आधारमा कांग्रेस दोस्रो स्थानमा रहे पनि आन्तरिक अन्तरकलह उसका लागि चुनौती बनेको छ।
गुट–उपगुट र टुटफुटबाट मुक्त देखिएको पार्टी भने यतिखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्र हो। पार्टीले दुवै क्षेत्रमा एकल र सर्वसम्मत रूपमा उम्मेद्वार सिफारिस गर्न सफल भएको छ। मनोनयनको दिन चौतारामा निकालेको विशाल र्यालीले विपक्षीको मनोबलमाथि ‘ढ्याङ्ग्रो’ ठोकेको नेकपाको दाबी छ। एमाले र कांग्रेसको भन्दा तीन गुणा बढी सहभागिता नेकपाको ¥यालीमा देखिएको थियो।
यद्यपि अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेका माधव सापकोटालाई जित निकाल्न सजिलो भने छैन। रणनीतिक रूपमा चतुर मानिने सापकोटा अहिले तेस्रोबाट दोस्रोमा उक्लिएको र अन्तिममा बाजी मार्न सक्ने आँकलन गरिएको छ। संसदमा जनसवाल बुलन्द रूपमा उठाउने, जुरे पहिरो पीडितलाई राहत दिलाउने र तातोपानी नाका खुलाउन भूमिका खेलेका नेताका रूपमा उनलाई हेरिन्छ।
क्षेत्र नम्बर १ मा १ लाख ३६ हजार ९८५ मतदाता छन्। एमाले–कांग्रेसको अन्तरकलह र तेस्रो शक्तिको उदयले यहाँको परिणाम अनुमान गर्न कठिन बन्दै गएको छ।
क्षेत्र नम्बर २ को अवस्था पनि उस्तै अन्योलग्रस्त छ। यहाँ गत निर्वाचनअनुसार एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिए पनि नेकपाका उम्मेद्वार युवराज दुलाल ‘शरद’ दुवैका लागि टाउको दुखाइ बनेका छन्। ‘विकासको बाकस’ भनेर चिनिने दुलालले प्रदेश सांसद हुँदा गरेको कामका कारण लोकप्रियता कमाएका छन्।
यद्यपि संगठन कमजोर भएकाले उनको जित पनि अनिश्चित छ। काम गर्ने र काम नगर्ने भनेर प्रमाणित भइसकेकाबीचको प्रतिस्पर्धाका रूपमा यो क्षेत्रलाई हेरिएको छ। यहाँ एक लाख ३८ हजार १३ मतदाता छन्।
समग्रमा सिन्धुपाल्चोकको चुनावी चित्र सपाट छैन। पहिलो र दोस्रो भनिएका एमाले र कांग्रेसको अन्तरकलह र तेस्रो दलको उदयले परिणाम अनुमान गर्न कठिन बनाएको छ। देशभर रास्वपाको माहोल देखिए पनि सिन्धुपाल्चोकमा भने यो निर्वाचन रास्वपाका लागि ‘ट्राइ अगेन’ सावित हुने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस्