२०८१ आश्विन २६
                           

विचरा! प्रकाश सपूतहरु कि प्रगतिशीलहरु?

प्रकाश सपूतसँग या जुनसुकै साँस्कृतिक सृजनाकर्मीसँग कथित परिपक्व प्रगतिशील मार्क्सवादी विचारधाराको फर्मुलामा सर्लक्क फिट हुने सृजनाहरूको जबर्जस्ती आग्रह तथा माग गर्ने एकथरी सग्ला जागरुक राता मान्छेहरुसँग मेरो अलिकति गुनासो छ।

एक, उनीहरूले खाँटी मार्क्सवादमा खारिएको साथै बृहत उपभोक्तावादी मनोरञ्जन-लालसी समाजमा रुचाइने सृजनाहरूको बाक्लो उत्पादन गरेर आफूले सही बाटो देखाउनुपर्छ ताकि गैरमार्क्सवादी सर्जकहरूलाई ओठे-आक्रमण गरिरहनुपर्ने छुद्रताबाट प्रगतिशील सर्जकहरूले हिउँदे विदा पाऊन्।

दुई, कस्ता विषयवस्तुमा गीत, ललित साहित्य, सिनेमा तथा सार्वजनिक उपभोगको लागि कस्ता साँस्कृतिक खुराकहरू आदर्शयुक्त अनि स्वस्थकर छन् भन्ने विषयमा व्यापक बहस अनि त्यही अनुसारको सृजनाहरूको बिस्तार गर्नुपर्ने हो र गरिरहेका पनि छन्, प्रगतिशीलहरुले। कथित बुर्जुवा सर्जकहरुसँग वास्तवमै बलियो साँस्कृतिक प्रतिस्पर्धामा उत्रिनको लागि निर्देशनात्मक आलोचनाले मात्रै नपुग्ला।

तीन, साँस्कृतिक सर्जकहरुसँग कस्तो समाज बनिरहेको छ र यसमा केकस्ता अपेक्षित सुधार गर्न सकिएला भन्ने विषयमा गम्भीर जिम्मेवारी त अवश्य पनि रहन्छ। साथै तिनका सृजनात्मक कार्यले समाजमा गलत सन्देश प्रवाह भएको त छैन? भन्ने विषयमा उनीहरूले सचेत हुनैपर्छ। तर पनि कसैलाई कथित सभ्य, समाजवादप्रति प्रतिबद्ध सृजनाहरू जबर्जस्ती रचना गराउन लगाउन सकिँदैन। कुनै पनि कोणबाट सर्जकलाई अनुचित नियन्त्रण र निर्देशनमा बाँधेर राख्ने प्रवृत्ति सामाजिक फाँसिवाद नै हो।

अभिव्यक्ति स्वतन्त्रता सर्जकको वैचारिक स्वतन्त्रता हो। तिमी यसरी सोच भनेर जबर्जस्ती कसैलाई पनि आफ्नो विचारधारा लाद्नुपर्ने अवस्था त साँच्चै नै प्रगतिशीलहरुले हारेको अवस्था हो। स्वच्छ वैचारिक संघर्ष त यसले रोक्छ नै, सृजनात्मक यान्त्रिकता अनि बनावटीपन पनि ल्याउँछ। त्यस्ता भद्दा र बनावटी प्रगतिशील साहित्यले सामाजिक चेतना-परिवर्तनमा साँच्चै प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन।

सँगै परिवारमा बसेर सुन्न/हेर्न नमिल्ने पत्रु नेपाली गीतसंगीत, गिती-भिडियो, सामाजिक प्रगतिको गतिलाई कुनै पनि सहयोग नगर्ने साहित्य, यौनवाद हाबी भएको नेपाली सिनेमा तथा सामाजिक विभेद र अन्यायलाई संस्थागत गरिराखेका कैयन् प्रथा, परम्परा र मान्यताहरु विरुद्ध वास्तविक प्रगतिशीलहरुले साँच्चै कठोर संघर्ष गर्नुपर्ने आवश्यक छ। तर यस्तो संघर्ष हरेक क्षेत्रमा र हरेक विरुद्ध गर्नुपर्ने हुन्छ।

प्रकाश सपूतलाई मात्रै किन यो आक्रामक आलोचना? यो प्रश्न मननीय छ। र अन्त्यमा, प्रकाश सपूतसँग प्रगतिशीलहरुले असल आग्रह गर्नुको अर्थ उनको सृजनात्मक क्षमताले समाजमा पुर्याउन सक्ने सकारात्मक र प्रगतिशील असरहरूको अपेक्षा हो। यो राम्रो पक्ष हो तर प्रकाश सपूतलाई नै किन गाली गरिन्छ?

किन उनलाई मात्रै ‘आँसु र भावनाको व्यापार’ गरेको फत्तुर लगाइन्छ? अन्य अर्थ नलागोस्, तर के सुविन भट्टराईले, नवराज पराजुली अथवा बुद्धिसागर तथा कुमार नगरकोटीहरुले या अधिकांश चल्तीका सर्जकले मानवीय संवेदना र भावनाको साहित्यिक सामग्री उत्पादन गरेर बेचिरहेका होइनन्? तिनले गरेको र प्रकाश सपूतले गरेकोमा के भिन्नता छ? साहित्य, सिनेमा र म्युजिक भिडियोमा यौनवादको व्यापक व्यापार गरिरहेका रछ्यानका भुसुनाझैँ धेरै संख्यामा रहेका बुर्जुवा सर्जकहरुसँग चाहिँ कथित प्रगतिशीलहरुले कुनै मार्क्सवादी अपेक्षा नराख्ने भएर तिनलाई आलोचनात्मक छूट दिइएको हो?

कि प्रकाश सपूतले बाहुनवादीहरुको अहंकारको शतचूर्ण गरी लोकप्रियताको उँभो यात्रा गरेकोमा प्रगतिशीलहरुको दमीत बाहुनवाद केवल बौरिएर उठेको मात्र हो? कथित जनयुद्धका नायकहरूको विचारधारात्मक स्खलन र आदर्शको घृणित अवसानपछि प्रकाश सपूतको ‘पीर’ ले खासै पीर लाग्नुपर्ने थिएन तर तिनलाई पीर होइन आक्रोशित नै बनायो।

तर पनि कथित जनयुद्धको नायकहरूको मृत विचारधारात्मक प्राणवायु भने बेहोसीबाट ब्युँझिएर आएको थाहा छैन। अनि, आफ्नो कर्तव्य भुलेर नवबुर्जुवा बनेका अधिकांश भूतपूर्व एवं अर्ध प्रगतिशीलहरुले लेखेका साहित्य र संगीत किन बजारमा जति खोजे पनि भेटिँदैनन्? उनीहरूको ‘महान’ कार्यभार पनि गैरमार्क्सवादी प्रकाश सपूतहरुले नै पूरा गरिरहनुपर्ने आग्रह हो कि? विचरा! प्रकाश सपूतहरु कि प्रगतिशीलहरु?

प्रतिक्रिया दिनुहोस्