२०८२ माघ २१

चौतारामा कफी रोष्टिङ र बरिस्ता तालिम सुरू, रोजगारीका नयाँ अवसर खुल्ने अपेक्षा

चौतारा । कफी व्यवसायसँग सम्बन्धित सीप विकासका उद्देश्यले चौतारामा पाँच दिने कफी रोष्टिङ तथा आधारभूत बरिस्ता तालिम ओैपचारिक उद्घाटन सहित सुरू गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालयको सहयोगमा सञ्चालित उक्त तालिममा होटल व्यवसायी, युवाहरू, विद्यार्थी तथा कृषक गरी २५ जनाको सहभागिता रहेका छन् ।

कार्यक्रममा नगर उपप्रमुख सीता थापाले कफी उत्पादन वृद्धि गरी नगरवासीको आय बढाउने लक्ष्यसहित नगरपालिकाले यस क्षेत्रमा लगानी गर्दै आएको बताइन् । विश्वमा पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै बिक्री हुने तरल पदार्थ कफी भएको उल्लेख गर्दै उनले कफी व्यवसाय र सीपको महत्त्व विश्व बजारमा झनै बढ्दो क्रममा रहेको समेत बताउदै अरनिको कृषि तथा पशुपालन फर्म कफी उत्पादन र कृषक क्षमता विकासको केन्द्रका रूपमा विकसित हुँदै गएको पनि उनले उल्लेख गरिन ।


उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयका चार मुख्य काम, व्यवसाय अनुगमन, दर्ता, सीप विकास र प्रविधि हस्तान्तरण—मध्ये यो कार्यक्रम सीप विकाससँग प्रत्यक्ष सम्बन्धित रहेको बताए । जेन–जी आन्दोलनपछि कार्यालयको करिब ५० प्रतिशत बजेट कटौती भए पनि सहभागी संख्या घटाएर भए पनि यस्ता महत्त्वपूर्ण कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएको उनको भनाइ थियो । कफी क्षेत्रमा जनशक्तिको अभाव रहेकाले तालिमपछि रोजगारीका अवसर सहज रूपमा सिर्जना हुने उनले उल्लेख गरे । साथै, कफीसम्बन्धी व्यवसाय दर्ता गराउन आउनेको संख्या पछिल्लो समय बढ्दै गएको जानकारी पनि दिए ।


त्यस्तै वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठले यस्तो महत्त्वपूर्ण कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका, विशेषगरी वडा नं. ५ मा सञ्चालन गर्न सहयोग गरेकोमा कार्यलय प्रति धन्यवाद व्यक्त गर्दै सहभागीहरूलाई तालिमपछि व्यवसायिक रूपमा अघि बढ्न प्रोत्साहन गरे । यस पटकको तालिमलाई केवल तालिममै सीमित नराखी व्यवसायमुखी बनाउने दिशामा अघि बढ्न सहभागीहरूलाई वडा अध्यक्ष श्रेष्ठले अनुरोध समेत गरिएको थियो ।

सहभागीहरूले तालिमपछि रोजगारीको सम्भावना बढ्ने विश्वास राखेका छन् । बाहिरी बजारमा महँगो शुल्क तिरेर लिनुपर्ने यस्ता तालिम उद्योग तथा वाणिज्य कार्यालयको सहयोगमा निःशुल्क सञ्चालन भएकाले सहभागीहरूले अवसरको अधिकतम सदुपयोग गर्ने देखिन्छ । यस्तो कार्यक्रमहरूले युवाहरूलाई स्वदेशमा नै आयआर्जन गर्ने बाटो देखाउने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्