२०८२ माघ १७

आचारसंहिता विपरीत समाचारप्रति महासंघको गम्भीर आपत्ति

चौतारा ।  सिन्धुपाल्चोकमा पछिल्लो समय सञ्चारकर्मी तथा सञ्चारमाध्यमबाट प्रकाशित र प्रसारित समाचार सामग्रीलाई लिएर जनस्तरबाट गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। विशेषगरी चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेको आरोप तथा विभिन्न जनप्रतिनिधि, राजनीतिक र सामाजिक व्यक्तित्वमाथि लागेको अनियमिततासम्बन्धी विषयलाई समाचार बनाउँदा पत्रकार आचारसंहिता, विद्यमान कानुन र व्यक्तिको गोपनीयताको ख्याल नगरेको गुनासो बढ्दै गएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अनुसार यस्ता गुनासो पटक–पटक आउनु भनेको पत्रकारिताको मूल मर्म र पेशागत मर्यादामाथि प्रश्न उठ्नु हो। यसले पत्रकार, पत्रकारिता र सञ्चारमाध्यमप्रतिको जनविश्वास कमजोर बनाउने जोखिम रहेको महासंघको ठहर छ।
महासंघले मुलुक निर्वाचनको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा समाचारहरू अझ बढी सन्तुलित, जिम्मेवार, पारदर्शी र विश्वसनीय हुनुपर्नेमा जोड दिएको छ। सूचनाको हक सबै नागरिकको मौलिक अधिकार भए पनि सार्वजनिक व्यक्तिको गोपनीयताको सीमा, पीडितको पहिचान खुलाउने वा नखुलाउने, भिजुअल प्रयोग, तथा संवेदनशील घटनाको प्रस्तुतीकरणमा विद्यमान कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको महासंघले स्मरण गराएको छ।
जिल्लासँग सम्बन्धित केही पछिल्ला समाचारको कन्टेन्ट र प्रस्तुतिप्रति जनस्तरबाट आएका गुनासोलाई गम्भीर रूपमा लिँदै महासंघ जिल्ला शाखाले आचारसंहिताको पालना गराउन विशेष ध्यानाकर्षण भएको जनाएको छ। महासंघ सधैं स्वच्छ, उत्तरदायी, जवाफदेही र मर्यादित पत्रकारिता गर्ने सञ्चारकर्मी तथा सञ्चारमाध्यमको पक्षमा रहेको पनि स्पष्ट पारेको छ।
तर पत्रकारिताको आवरणमा धम्की दिने, अनैतिक क्रियाकलाप गर्ने, आचारसंहिता विपरीत गतिविधि गर्ने र व्यक्तिगत स्वार्थका लागि पेशालाई बदनाम गर्ने प्रवृत्ति भने कुनै पनि हालतमा स्वीकार्य नहुने महासंघको भनाइ छ। यस्ता अराजक र आपत्तिजनक गतिविधि नगर्न तथा नगराउन जिल्लाका सबै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई महासंघले आग्रह गरेको छ।
महासंघले पत्रकारको रूपमा परिचित भएपछि पत्रकारिताका विश्वव्यापी सिद्धान्त, सम्पादकीय स्वतन्त्रता र आचारसंहिताको कसीमा उभिएर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएको छ। समाचार कहिल्यै एकतर्फी नहुने र पक्ष–विपक्षलाई सन्तुलित रूपमा प्रस्तुत गर्नु नै असल पत्रकारिताको आधार भएको महासंघको निष्कर्ष छ।
सामाजिक सञ्जालमा भ्यूज, लाइक र फलोअर्स बढाउने नाममा आफूलाई अलग्गै पत्रकार दाबी गर्ने प्रवृत्तिले सामाजिक द्वन्द्व बढाउने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ। पत्रकारिताको धर्म द्वन्द्व बढाउनु नभई समाधान खोज्नु भएको उल्लेख गर्दै सत्य, तथ्य र निष्पक्षताका आधारमा सन्तुलित समाचार प्रस्तुत गर्न महासंघले सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ।
पत्रकारिता पेशालाई अनुशासित, मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन महासंघ जिल्ला शाखामा आबद्ध सबै सदस्य तथा जिल्लाका सम्पूर्ण सञ्चारकर्मीलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्