चोैतारा | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ मा पछिल्लो समय अघि बढाइएको “बालमैत्री वडा घोषणा” अभियानकै बीच एउटा विद्यालयबाट आएको घटनाले स्थानीय समुदायलाई गहिरो प्रश्न सोध्न बाध्य बनाएको छ— के बालमैत्री भन्नु घोषणामा मात्र सीमित हुने हो ?
साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत १२ वर्षीया बालिकामाथि सोही विद्यालयका शिक्षकबाट यौन दुव्र्यवहार भएको आरोप सार्वजनिक भएपछि बुधबार विद्यालय परिसर तनावग्रस्त बन्यो । बाल अधिकार, सुरक्षा र सम्मानका कुरा भइरहेकै वडामा यस्तो घटना बाहिरिनु स्थानीयका लागि झनै पीडादायी बनेको छ।
आइतबार घटेको भनिएको घटनापछि बालिकाका अभिभावकले विद्यालय प्रशासनसँग कुरा राखे। उनीहरूको भनाइमा, विषयलाई कानुनी बाटोमा लैजानु भन्दा “भित्रै मिलाउने” प्रयास गरियो। आरोपित शिक्षकलाई अस्थायी रूपमा कक्षाबाट हटाउने र सरुवाको प्रक्रिया अघि बढाउने सहमति भएको बताइए पनि व्यवहारमा त्यसको कार्यान्वयन नहुँदा अभिभावक र समुदाय आक्रोशित बने।
मंगलबार बिहान पनि उनै शिक्षक कक्षामा पढाइरहेको देखेपछि स्थानीयको विश्वास थप चकनाचुर भयो। बालिकाको सुरक्षाभन्दा संस्थाको छवि जोगाउने प्रयास भएको आरोपसहित अभिभावक र स्थानीयले विद्यालयमै पुगेर विरोध जनाए।
यसैबीच, घटनासँग जोडेर सामाजिक सञ्जालमा गरिएको फेसबुक लाइभले अवस्था झनै जटिल बनायो। पीडित बालिकाको गोपनीयता र संवेदनशीलतालाई बेवास्ता गरिएको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। “बालमैत्री” को नाममा बालिकाको सम्मान र गोपनीयता नै ख्याल नगरिनु विडम्बनापूर्ण भएको उनीहरूको भनाइ छ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीयले विद्यालयमा ताला लगाउनुका साथै साँगाचोक प्रहरी चौकीसम्म पुगेर निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरे। उनीहरूको मुख्य आवाज एउटै थियो— यस्ता गम्भीर विषय सहमतिमा होइन, कानुनमा टुंगिनुपर्छ।
बुधबार साँझ पीडित बालिकाको तर्फबाट औपचारिक जाहेरी दर्ता भएसँगै घटनाले कानुनी मोड लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख काजी कुमार आचार्यका अनुसार आरोपित शिक्षक र विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। प्रहरीले सत्यतथ्य छानबिन गरी कानुनअनुसार कारबाही हुने स्पष्ट पारेको छ।
बालमैत्री वडा घोषणा तर्फ अघि बढिरहेको वडामा घटेको यो घटनाले कागजी घोषणाभन्दा व्यवहारिक सुरक्षा र जिम्मेवारी कति आवश्यक छ भन्ने कुरा बलियोसँग देखाएको छ। अहिले स्थानीय समुदाय एउटै अपेक्षामा छन्— बालमैत्री शब्दले होइन, न्याय र सुरक्षाले पुष्टि होस्।
प्रतिक्रिया दिनुहोस्