२०८२ माघ ९

एकताको सन्देशसहित नेकपा उम्मेदवारहरू एकै पोशाकमा मनोनयन दर्ताको तयारीमा

चौतारा । सिन्धुपाल्चोक जिल्लामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले एकताको स्पष्ट सन्देश दिँदै एकै प्रकारको परम्परागत पोशाकमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक तथा माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपाका तर्फबाट जिल्लाका दुबै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूले एउटै शैलीको पोशाक प्रयोग गर्दै एकता र अनुशासनको सन्देश दिन खोजिएको पार्टीले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार माधव सापकोटा ‘सुबोध’, क्षेत्र नम्बर २ बाट युवराज दुलाल ‘शरद’, तथा समानुपातिकतर्फका उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङले दौरा–सुरुवाल र साडी–चोलीमा सजिएर मनोनयन दर्ता गर्ने भएका छन् । उनीहरूले प्रयोग गरेको पोशाकले नेपाली मौलिक संस्कृति र पहिचानलाई समेत उजागर गरेको देखिन्छ ।
मनोनयन दर्ताअघि उम्मेदवारहरूले गलामा मखमली फूलका माला लगाई, पृष्ठभूमिमा नेपाली राष्ट्रिय झण्डा र पार्टीका रातो झण्डा फहराउँदै सामूहिक तस्बिरसमेत खिचाएका छन् । उक्त दृश्यले नेकपाभित्रको एकता, सहकार्य र साझा उद्देश्यलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको स्थानीय नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्