२०८२ माघ ९

चौतारासहित देशभर सोनाम ल्होछार हर्षोल्लासका साथ मनाइयो

चौतारा । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार चौतारासहित देशभर हर्षोल्लासका साथ मनाइएको छ । नयाँ वर्षको आगमनको प्रतीकका रूपमा मनाइने ल्होछार पर्वले तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त बनाएको छ ।
नेपालमा ल्होछार मनाउने परम्परा चीन तथा चीन प्रशासित क्षेत्रबाट भित्रिएको मानिए पनि तामाङ समुदायले भने चिनियाँ पात्रोभन्दा फरक आफ्नै मौलिक चन्द्र पात्रो प्रयोग गर्दै आएको छ । बौद्ध धर्मको महायान सम्प्रदायमा विश्वास गर्ने तामाङ जातिसँगै शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्‌वा, भोटे, दुरा र लेप्चा लगायतका जातिहरूले पनि ल्होछार पर्व मनाउने परम्परा छ ।
ल्होछार पर्व तीन प्रकारका हुन्छन् । गुरुङ समुदायले मनाउने तोल ल्होछार, तामाङ लगायतका जातिले मनाउने सोनाम ल्होछार तथा शेर्पा र भोटे जातिले मनाउने ग्याल्पो ल्होछार रहेका छन् ।


त्यस्तै आज सोनाम ल्होछारको अवसरमा चौतारामा आयोजना गरिएको विशेष कार्यक्रममा सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा शुभकामना आदान–प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले ल्होछार पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र सांस्कृतिक एकतालाई बलियो बनाउने उल्लेख गरे ।
“ल्होछार केवल एउटा पर्व मात्र होइन, यो हाम्रो पहिचान, संस्कार र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक धरोहर हो,” उनले भने, “यस्ता पर्वले समाजलाई एकताबद्ध बनाउँदै सकारात्मक ऊर्जा प्रदान गर्छ ।”
त्यस्तै नगर उपप्रमुख सिता थापाले ल्होछारले विविधताभित्रको एकतालाई झल्काउने बताउँदै सबै समुदायको संस्कृति संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
“सोनाम ल्होछारले तामाङ समुदायको संस्कृति मात्र होइन, समग्र नेपाली समाजको सांस्कृतिक विविधतालाई उजागर गर्छ,” उनले भनिन्, “यस्ता पर्वको संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो साझा दायित्व हो ।”
कार्यक्रममा सहभागीहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्षको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्