सिन्धुपाल्चोक । कुबिण्डेमा सम्पन्न प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा मेलम्ची नगरपालिकाले जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै विजेता मेलम्ची नगरपालिकाले नगद एक लाख रुपैयाँ, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जुगल गाउँपालिकाले नगद ७५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
त्यस्तै, हिजो तेस्रो स्थानका लागि भएको खेलमा हेलम्बु गाउँपालिकामाथि रोमान्चक जित निकाल्दै तेस्रो स्थान हासिल गरेको बलेफी गाउँपालिकाले नगद ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सान्त्वना स्थानमा परेको हेलम्बु गाउँपालिकाले नगद २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगिताका विजेता तथा सहभागी टोलीहरूलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधि सभा सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटालगायतले पुरस्कार वितरण गरेका थियो ।
फाइनल खेलको म्यान अफ द म्याच मेलम्ची नगरपालिकाका जर्सी नम्बर ४ का खेलाडी आकाश तामाङ घोषित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै निवर्तमान प्रतिनिधि सभा सदस्य माधव सापकोटाले जिल्लाका १२ पालिकामध्ये ११ पालिकाको सहभागिता रहनु आफैंमा ऐतिहासिक र गौरवपूर्ण विषय भएको बताए । उनले यस प्रतियोगितामार्फत कुबिण्डेले जिल्लाभर एकताको सशक्त सन्देश प्रवाह गरेको उल्लेख गरे ।
उनले प्रथम हुने मेलम्ची नगरपालिकालाई बधाई दिँदै अन्य सहभागी पालिकाहरूलाई पनि खेल र सीपको थप विकास गरी खेलकुदमार्फत जिल्ला तथा आफ्ना पालिकाको पहिचान स्थापित गर्न शुभकामना व्यक्त गरे । साथै उनले नजिकिँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सबैको साथ, सहयोग र हौसला अपेक्षा गर्दै मनोनयन दर्ताका समयमा सम्भव भएसम्म उपस्थित भई हौसला बढाइदिन आग्रह गरे ।
स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको प्रतियोगिताले सिन्धुपाल्चोकमा खेलकुद विकाससँगै आपसी सद्भाव र एकताको भावना थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्