काठमाडौं/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोकका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा सुबोध र सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल (शरद)लाई उम्मेदवार बनाएका हुन्।
सिन्धुपाल्चोक–१ बाट उम्मेदवार बनेका माधव सापकोटा सोही क्षेत्रका निवर्तमान सांसद हुन्। उनलाई आइतबार बिहान पार्टी संयोजक प्रचण्डले टिकट प्रदान गरेका हुन्। यस क्षेत्रवाट नेकपा एमालेले भने आङदोर्जे शेर्पालाई उमेदवार बनाउने निर्णय गरेको छ।
सिन्धुपाल्चोक–२ मा उम्मेदवार बनेका युवराज दुलाल बागमती प्रदेशसभा सदस्य समेत हुन् र सोही क्षेत्रबाट दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। २०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक–२ (क) बाट विजयी दुलालले प्रदेशसभामा आठ वर्ष काम गरेका छन्।
प्रदेश सरकारमा रहँदा उनले २०७४ देखि २०७७ सम्म सामाजिक विकास मन्त्रालय र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ भने माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहेको छ।
सिन्धुपाल्चोक–२ मा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका थिए। उनलाई नयाँ निर्वाचन क्षेत्रमा ल्याएर जिताएको तर विकासका काममा प्रभावकारी हुन नसकेको भन्दै आलोचना समेत भएको थियो। यस क्षेत्रमा नेकपा एमालेले भने शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।
नेकपाले दुवै क्षेत्रमा अनुभवी र पहिचान भएका नेताहरूलाई उम्मेदवार बनाएपछि सिन्धुपाल्चोकको चुनावी प्रतिस्पर्धा थप चर्किने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्