२०८२ माघ ९

जनजागृती माविको ७५औँ वार्षिकोत्सव सम्पन्न, नृत्य प्रतियोगितामा कालिदेवी मावि प्रथम

साँगाचोक– जनजागृती माध्यमिक विद्यालयले आफ्नो ७५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा आयोजित मावि स्तरीय नृत्य प्रतियोगितामा कालिदेवी माध्यमिक विद्यालय, कदमबासले प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगितामा जनजागृती मावि द्धितीय र रामदेवी मावि तृतीय स्थानमा रहे। प्रतियोगितामा सहभागी विद्यार्थी कलाकारहरूले नृत्यमार्फत् राष्ट्रियता, धर्म, संस्कृति र विभिन्न जातजातीका रीतिरिवाज प्रस्तुत गरेर दर्शकहरूको मन जितेका थिए।


वार्षिकोत्सवका प्रमुख अतिथि, पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य युवराज दुलालले प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र वितरण गरे। उनले कार्यक्रमलाई सम्बोधन गर्दै  भने, “शिक्षा र संस्कृतिप्रति लगाव भएका विद्यालयहरूले मात्र समाज र राष्ट्रको समृद्धिमा योगदान दिन सक्छन्। जनजागृती मावि यस्ता विद्यालयमध्ये एक हो, जसले विद्यार्थीहरूलाई शिक्षा, संस्कार र सृजनात्मक क्षमतामा उत्कृष्ट बनाउन निरन्तर योगदान गरिरहेको छ।”
प्रतियोगितामा सहभागी विद्यालयहरूको लागि यातायात खर्च र सहभागि प्रमाणपत्र विद्यालयले उपलब्ध गराएको थियो। प्रतियोगिताको निर्णायकको रूपमा सिन्धुकला मन्दिर चौताराका मणिसुन्दर कोइराला र निर्मल बस्नेतले भूमिका निर्वाह गरेका थिए।
वार्षिकोत्सवमा पूर्व संविधान सभा सदस्य गंगा पराजुली, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूले विद्यालयको शैक्षिक प्रगति र गुणस्तरको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार, २००७ सालमा स्थापना भएको विद्यालयबाट हजारौँ विद्यार्थीहरूले शिक्षा प्राप्त गरी देशका विभिन्न क्षेत्रमा योगदान गरिरहेका छन्। विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू पनि अध्ययनरत छन्। त्यस्तै, कृषि भेटेरीनरीसम्बन्धी शिक्षा प्रदान हुँदै आएको र विद्यार्थीहरूले जेटिए भेटेरीनरी कोर्ष पूरा गरी रोजगारमा सफलता हासिल गरेको जानकारी प्रतिवेदनमा समावेश छ।
वार्षिकोत्सव कार्यक्रम वडाध्यक्ष दिपेन्द्र नेपालको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, छिमेकी विद्यालयका प्रतिनिधि, चन्दादाता र विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्