२०८२ माघ ९

वनदेवी माविको वार्षिकोत्सवमा शिक्षामैत्री सन्देश, स्मार्ट बोर्ड सहयोगको घोषणा

चोैतारा- सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ भुलभुले अवस्थित श्री वनदेवी माध्यमिक विद्यालयको २८औँ वार्षिकोत्सव, अभिभावक भेला तथा विद्यार्थी पुनर्मिलन कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन् ।


कार्यक्रमका प्रमुख अतिथि, ब्रान्फोर्ड कम्युनिटी फाउन्डेसन तथा बोर्ड अफ एजुकेशनका निर्देशक रामचन्द्र श्रेष्ठले विद्यालयले प्रविधिको क्षेत्रमा भोगिरहेको समस्यालाई मध्यनजर गर्दै रामज्योति फाउन्डेसनमार्फत एक थान स्मार्ट बोर्ड उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गरे । प्रविधिमैत्री शिक्षाले विद्यार्थीको सिकाइ प्रक्रिया सहज र प्रभावकारी हुने बताउँदै उनले विद्यालयको डिजिटल शिक्षामा सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे । साथै उनले विद्यालयलाई आवश्यक थप सहयोग गर्न पनि आफू तयार रहेको बताए ।


चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठले विद्यालयले स्थानीय तहमा शिक्षा विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे । उनले बालबालिकाको उज्ज्वल भविष्यका लागि विद्यालयको शैक्षिक तथा भौतिक विकासमा वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।


कार्यक्रमका क्रममा विद्यालयका प्रधानाध्यापक दीपक राईले विद्यालयको वर्तमान अवस्था बारे जानकारी गराउँदै हाल विद्यालयमा जम्मा ३ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको बताए । तीमध्ये दृष्टिविहीन स्रोतकक्षामा ९ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी पनि उनले दिए । समावेशी शिक्षालाई प्राथमिकतामा राखेर विद्यालय अघि बढिरहेको उनको भनाइ थियो ।
त्यस्तै प्रधानाध्यापक राईले यसपटकको कार्यक्रममा कुनै पनि राजनीतिक नेतालाई निमन्त्रणा नगरिएको स्पष्ट पार्दै शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट अलग राख्ने उद्देश्यले यस्तो अभ्यास सुरु गरिएको बताए । उनले यसलाई विद्यालयस्तरमा सकारात्मक परिवर्तनको सुरुवातका रूपमा उल्लेख गरे ।


कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए भने कक्षा–गत उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास बढाउने र विद्यालयप्रतिको अपनत्व भाव सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्