२०८२ माघ ९

भविष्यको परिणामको लेखाजोखा गरी निर्णय लिनुपर्छ- युवराज दुलाल

सिन्धुपाल्चोक । श्री सेतिदेवी माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री युवराज दुलाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुलालले शिक्षा बिना समाजको दिगो विकास सम्भव नहुने स्पष्ट पारे । उनले विद्यालयले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक सीप, नैतिक मूल्य र जिम्मेवार नागरिक बन्ने आधार तयार गर्नुपर्नेमा जोड दिए ।
“शिक्षामा लगानी गर्नु भनेकै समृद्ध भविष्य निर्माणको दीर्घकालीन सोच हो । आजका विद्यार्थी नै भोलिका नेतृत्व हुन्, त्यसैले विद्यालयले गुणस्तरीय र जीवनोपयोगी शिक्षा दिनुपर्छ,” उनले भने ।


प्रदेश सांसद दुलालले देशको वर्तमान अवस्थाबारे चर्चा गर्दै मुलुक चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताए । राजनीतिक दलहरूबीच न्यूनतम सहकार्यको अभाव र कुशासनका कारण देश अस्थिर राजनीतिक अवस्थाको केन्द्र बन्दै गएको उनको धारणा थियो । लामो संघर्ष र जनआन्दोलनबाट व्यवस्था परिवर्तन भई जनकेन्द्रित संविधान निर्माण भएको भए पनि कुशासन र भूराजनीतिक जटिलताका कारण मुलुक अस्थिरताको चपेटामा परेको उनले उल्लेख गरे ।
उनले आज पनि नेपाली जनता पूर्ण रूपमा स्वतन्त्र निर्णय गर्न सक्ने अवस्थामा नपुगेको बताउँदै यस अवस्थाको दुरुपयोग हुने खतरा विद्यमान रहेको चेतावनी दिए । भविष्यको परिणामको लेखाजोखा गरी आजका निर्णय लिन आवश्यक रहेको उनको भनाइ थियो । साथै, उनले सेतिदेवी माध्यमिक विद्यालयले ७३ वर्षदेखि शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदान अत्यन्तै सराहनीय रहेको बताए ।


कार्यक्रममा वडा अध्यक्ष युवलाल श्रेष्ठले स्थानीय तह विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सधैँ साथ रहने प्रतिबद्धता जनाए । विद्यालय समुदायको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण, सुधार र प्रवर्द्धन सबैको साझा दायित्व भएको उनले बताए ।
“श्री सेतिदेवी माध्यमिक विद्यालय यस वडाको गौरव हो । वडाको तर्फबाट भौतिक पूर्वाधार, सिकाइ वातावरण र विद्यार्थी केन्द्रित गतिविधिमा आवश्यक सहयोग निरन्तर रहनेछ,” उनले भने ।


वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, दीर्घ सेवा गरेका शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । साथै, विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत तथा विविध सिर्जनात्मक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्