२०८२ पुष ९

चौतारा साँगाचोकगढीमा निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका जनस्वास्थ्य सेवामा उदाहरणीय अभ्यासतर्फ अघि बढ्दै गएको छ। “कुनै पनि नागरिक मोतिविन्दुका कारण अन्धोपन भोग्न नपरोस” भन्ने लक्ष्यसहित सुरु गरिएको निःशुल्क स्वास्थ्य शिविरले वडावडामा प्रभावकारी सेवा दिन थालेको छ ।

नगरपालिकाले सोमबार वडा नम्बर १ स्याउलेबाट औपचारिक रूपमा सुरु गरेको मोतिविन्दु परीक्षण शिविर मंगलबार वडा नम्बर २ र ३ मा सम्पन्न भएको छ । वडा नम्बर २ मा सञ्चालन भएको शिविरमा २३ पुरुष र १४ महिला गरी २७ जनाको आँखाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २ जनामा मोतिविन्दु पहिचान भएको छ भने १६ जनामा चस्मा आवश्यक देखिएको नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले जानकारी दिए।

त्यसैगरी वडा नम्बर ३ मा सञ्चालन गरिएको शिविरमा ३४ पुरुष र ५९ महिला गरी ९३ जनाले सेवा लिएका छन्। जसमा ५ जनामा मोतिविन्दु देखिएको छ भने ४० जनालाई चस्मा आवश्यक रहेको पाइएको छ।

नगर स्वास्थ्य शाखा प्रमुख नेपालका अनुसार, परीक्षणबाट शल्यक्रियाका लागि छनौट भएका सेवाग्राहीको चौतारामै मोतिविन्दु शल्यक्रिया गरिने व्यवस्था गरिएको छ। चयन भएका बिरामीको लागि पौष २० र २१ गते अप्रेसन शिविर सञ्चालन गरिने उनले बताए।

0a8f411c-f40b-4e09-b07b-22404a78bdaf1766497514.jpg

यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाले मोतिविन्दुसँगै पाठेघरको मुखको क्यान्सर परीक्षण तथा जेष्ठ नागरिकका लागि फिजियोथेरापी सेवा पनि संचालन गरिरहेको छ। मंगलबार वडा नम्बर ६ को पिपलडाडा स्वास्थ्य चौकी र पिपलडाडा सहरी स्वास्थ्य सेवा केन्द्र गरी दुई स्थानमा शिविर सञ्चालन गरिएको थियो।

उक्त शिविरमा १०७ महिला र १८ पुरुष गरी १२५ जनाले सेवा लिएका थिए। ३४ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा १ जनामा आङ खस्ने समस्या देखिएको र उपचारको सम्पूर्ण व्यवस्था नगरपालिकाले गर्ने स्वास्थ्य शाखा प्रमुख नेपालले बताए।

त्यस्तै, फिजियोथेरापी सेवाअन्तर्गत ७५ महिला र १७ पुरुष गरी ९२ जनाले सेवा लिएका छन्।
आधारभूत स्वास्थ्य सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यसहित नगरपालिकाले वडा–वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। बाँकी सबै १४ वटै वडामा क्रमशः विस्तार गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ र नियमावली, २०७७ अनुसार आधारभूत स्वास्थ्य सेवाभित्र समावेश फिजियोथेरापी सेवालाई व्यवहारमा उतार्दै वडास्तरमै सेवा पु¥याइनु चौतारा साँगाचोकगढी नगरपालिकाको उल्लेखनीय पहल मानिएको छ। कानुनी व्यवस्था हुँदाहुँदै पनि धेरै स्थानीय तहमा प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्थामा नगरपालिकाको यो अभियानलाई जनस्वास्थ्यतर्फको सकारात्मक र अनुकरणीय कदमका रूपमा हेरिएको छ।

 

स्वर्णयुगबाट

प्रतिक्रिया दिनुहोस्