सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगर इसाई एकता समाजको आयोजनामा नजिकिँदै गरेको ख्रिस्टमस पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम पौष ०५ गते मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित आलडाँडा कभर्ड हलमा आयोजना गरिएको हो । कार्यक्रममा ख्रिस्टमस पर्वको ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्त्वबारे चर्चा गर्दै आपसी सद्भाव, शान्ति, प्रेम र भाइचाराको सन्देश प्रवाह गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले ख्रिस्टमस पर्वले समाजमा प्रेम, सहिष्णुता र मानवता फैलाउने सन्देश दिने उल्लेख गरे । उनले सबै धर्म, संस्कृति र समुदायबीच आपसी सम्मान र सहकार्य आवश्यक रहेको बताउँदै नगरपालिकाले इसाई समाजको माग बमोजिम इसाई समुदायको परम्परा अनुरूप अन्त्येष्टि स्थलको व्यवस्था गरिदिने प्रतिबद्धता समेत गरे ।

कार्यक्रममा भक्तजनहरूले भजन–कीर्तन, गीत तथा नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति सहित यश पर्वको शुभकामना आदान प्रदान गरे ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य ख्रिस्टमस पर्वलाई सामूहिक रूपमा मनाउँदै समाजमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी मेलमिलापलाई प्रवर्द्धन गर्नु रहेको छ । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्