२०८२ पुष ४

विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागू गर्ने सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ऐसेलुखर्क/ इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको गुनासो सुन्ने तथा समस्या समाधान गर्ने उद्देश्यले गुनासो सुनुवाइ संयन्त्र निर्माण र कार्यान्वयन सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

पैरवी समूह सिन्धुपाल्चोकको आयोजनामा तथा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)को सहयोग र इन्द्रावती गाउँपालिकाको समन्वयमा इन्द्रावती–५ स्थित श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रममा पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञप्रसाद दंगालको अध्यक्षता रहेको थियो भने इन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा इन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीनबहादुर धामीको विशेष आतिथ्यता रहेको थियो। साथै गाउँपालिकाका उद्यम विकास सहजकर्ता सपना नेपालीसहित विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

 

इन्द्रावती गाउँपालिकामा कक्षा ९ देखि १२ सम्म सञ्चालनमा रहेका १२ वटा माध्यमिक विद्यालय रहे पनि हालसम्म कुनै पनि विद्यालयमा विद्यार्थीका गुनासो सुन्ने औपचारिक समिति तथा गुनासो पेटिकाको व्यवस्था नभएको सहभागीहरूले बताएका छन्। यसका कारण विद्यार्थीहरू विद्यालय परिसरभित्र, विद्यालय आउँदा–जाँदा, घरपरिवार तथा समुदायमा विभिन्न प्रकारका भेदभाव, दुर्व्यवहार, शोषण, लैङ्गिक हिंसा, बेवास्ता, हेलचेक्र्याइँ, शारीरिक तथा मानसिक दण्ड र बुलिङजस्ता समस्यामा पर्ने गरेको गुनासो आइरहेको उल्लेख गरिएको छ।

 

यस्ता समस्याको रोकथाम गर्न तथा कुनै घटना घटेमा निश्चित प्रक्रिया अपनाई समाधान गर्न विद्यालयस्तरमै गुनासो सुनुवाइ संयन्त्र आवश्यक रहेको निष्कर्षसहित सो संयन्त्र निर्माण र कार्यान्वयनका लागि पालिकासँग पहल तथा पैरवी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। संयन्त्र लागू भएमा विद्यालयमा बालबालिकाको सहभागिता वृद्धि भई गुणस्तरीय शिक्षा सुनिश्चित हुने अपेक्षा गरिएको छ।

 

कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण पैरवी समूह इन्द्रावती क्लस्टरका संयोजक जगन्नाथ रिजालले गर्नुभएको थियो। कार्यक्रमको उद्देश्य तथा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) का कार्यक्रमहरूबारे रेष्टका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराईले जानकारी गराउनुभएको थियो। अन्तरक्रियामा उठेका सवाल तथा जिज्ञासाको सहजीकरण रेष्टका कार्यक्रम अधिकृत सुरज शर्माले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङले रेष्टले समाजमा पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै गुनासो सुनुवाइ संयन्त्र कार्यान्वयनका लागि आगामी कार्यपालिका बैठकमा अनुमोदनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूमा रेष्ट र पैरवी समूहसँग सहकार्य आवश्यक रहेको बताउनुभयो।

 

त्यसैगरी शिक्षा शाखा प्रमुख मीनबहादुर धामीले गुनासो सुनुवाइ समिति गठन र व्यवस्थाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै गाउँपालिका यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

 

कार्यक्रममा सहभागी प्रधानाध्यापक, शिक्षक प्रतिनिधि तथा सरोकारवालाहरूले विद्यालयमा विद्यार्थीहरूले निडर रूपमा आफ्ना समस्या राख्न सक्ने वातावरण निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

 

अन्त्यमा कार्यक्रम अध्यक्ष तथा पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञप्रसाद दंगालले सबैको सक्रिय उपस्थितिले कार्यक्रम प्रभावकारी भएको बताउँदै उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्